Tuesday, February 21, 2012

सहकारीमार्फत ब्रिकेट उत्पादन र विक्री

अभियान दैनिक
फागुन १०, धादिङ / गाविसको साना किसान कृषि सहकारी संस्थाका ६ समूहका सदस्यहरूले वनमा खेर गइरहेको पातपतिङ्गरलाई आम्दानीको राम्रो स्रोत बनाएका छन् । सुकेका पातपतिङ्गरको प्रयोगबाट बन्ने बायोब्रिक्रेटको विक्रीबाट किसानहरूले मासिक १० देखि १२ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको संस्थाको चार नम्बर समूहका पूर्वअध्यक्ष रङ्ग थपलियाले जानकारी दिए । कुम्पुर गाविसमा अहिले ६ ओटा समूहका ४० जना सदस्यले ब्रिकेट बनाउने काम गरिरहेको उनले बताए । यी संस्थाका सदस्यहरूले ३ वर्षदेखि यो व्यवसाय गरिरहेका छन् ।
एक व्यक्तिले दैनिक २ सय ७५ ओटासम्म ब्रिकेट बनाउन सक्ने थपलियाले बताए । उनका अनुसार समूहका सदस्यहरूले उत्पादन गरेको ब्रिकेट सहकारीले खरीद गर्ने गरेको छ । संस्थाले किसानसँग प्रतिब्रिकेट ८ रुपैयाँमा खरीद गरेर रू। ११ मा बेच्दै आएको छ । तर, अहिले व्यापारीहरू किसानका घरमै पुगेर प्रतिब्रिकेट रू। १५ सम्ममा किन्ने गरेका छन् । ब्रिकेट बनाउन चाहिने डाई पनि संस्थाले नै उपलब्ध गराउँदै आएको छ । प्रतिगोटा ब्रिकेट निर्माणमा रू। ३ लागत पर्ने थपलियाले जानकारी दिए । प्रतिडाईको बजारमूल्य अहिले रू। ३ हजारसम्म रहेको छ । उनले भने, ‘एउटा समूहसँग तीनओटा डाई भयो भने सबै सदस्यलाई काम गर्न पुग्छ । एउटा समूहमा औसतमा सात जना सदस्य रहने उनले बताए ।
समूहका सदस्यहरूले फुर्सदको समयमा ब्रिकेट बनाउने गरेका छन् । हिउँदमा कृषकको फुर्सद हुने र घाम पनि राम्रोसँग लाग्ने हुनाले उक्त समयमा धेरै मात्रामा ब्रिकेटहरू उत्पादन हुने गरेका छन् । जाडो महीनामा आगो ताप्न र कोठा तताउनका लागि यसको प्रयोग गरिने हुंदा सो समयमा माग धेरै हुने गरेको थपलियाको अनुभव छ । ‘असोजदेखि चैत महीनासम्म ब्रिकेटको सिजन हो,’ उनले भने, ‘तर हिजोआज खाना पकाउने ग्यासको अभाव भएकाले वर्षैभरि यसको माग हुने गरेको छ ।’ प्रतिब्रिकेटको उपभोक्ता मूल्य ४५ रुपैयाँ र यसको चूलो २ सय रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।