Wednesday, May 2, 2012

सहकारी पसल धमाधम बन्द

बैशाख १९ /  धनकुटाका विभिन्न गाविसमा दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खोलिएका दर्जनौं सहकारी पसल बन्द हुन थालेका छन् । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ खोलिएका सहकारी पसल क्रमशः बन्द हुन थालेका हुन् ।
दुई वर्षअघि सरकारले सहकारी विभागमार्फत डिभिजन सहकारी कार्यालय धनकुटाबाट ३६ वटा उपभोक्ता सहकारी संस्थालाई १ लाख रुपैयाँको दरले ३६ लाख रुपैयाँ अनुदान दिएको थियो । एक वर्षअघि ३५ वटा गाविस र एक नगरपालिकामा गरी ३६ वटा उपभोक्ता सहकारी पसल सरकारको अनुदान सहयोगमा सञ्चालनमा आएका थिए ।
तर, अहिले सञ्चालकको बेवास्ता र आफ्नो लगानीको महसुस नभएका कारण सरकारको अनुदानमा खोलिएका सहकारी पसल बन्द हुँदै गएको सहकारी डिभिजन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए । सरकारी अनुदानमा सुपथ मूल्यमा बिक्री–वितरण गर्ने गरी खोलिएका सहकारी पसलमध्ये कुरुलेतेनुपा, घोर्लिखर्क, चुङमाङ, राजारानी, मौनावुधुक, वोधे, डाँडाबजार, छिन्ताङलगायत गाविसका पसल पूर्णरूपमा बन्द भइसकेका छन् ।
सरकारले दिएको १ लाख रुपैयाँ अनुदान रहेसम्म सञ्चालन गर्ने र सो पैसा सकिएपछि सञ्चालकले ध्यान नदिने भएपछि बन्द हुने गरेको जिल्ला सहकारी संघका अध्यक्ष घनेन्द्रराज श्रेष्ठले बताए । अहिले जिल्लामा ६ वटा मात्र सहकारी पसल सञ्चालनमा छन् ।
सरकारद्वारा स्थानीयस्तरमा अनुगमन समिति गठन गरिएको भए पनि समितिले प्रभावकारी अनुगमन नगर्दा र सहकारी सञ्चालक जिम्मेवार नहुँदा सरकारको अनुदान रकम अहिले बालुवामा पानी हालेझैं भएको स्थानीयवासी बताउँछन् । डिभिजन सहकारी कार्यालय धनकुटामा दर्ता भएका ४२ उपभोक्ता सहकारीमध्ये ३६ वटाले सरकारी अनुदान रकम लिएको कार्यालयले जनाएको छ ।
सहकारी पसल बन्द हुँदै गएको जानकारी भएर पनि केही पनि गर्न नसकिने कार्यालय प्रमुख श्रेष्ठले बताए । सरकारले दीर्घकालीन र प्रभावकारी अनुगमनको योजनाबिना नै ल्याएका यस्ता कार्यक्रमले लक्षित वर्गलाई फाइदा पुग्नुभन्दा राज्यको ढुकुटी रित्याउने काममात्र भएको धेरैको बुझाइ छ ।
स्केच आउँछ । कारोवार दैनिकबाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।