Thursday, January 19, 2012

सहकारी सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो बिहानी
धादिङ माघ ५ नौबिसे/
आपसी सहयोग र सहकार्यको क्षेत्र पहिचानको लागि कृषि तथा पशुधन उत्पादन क्षेत्रमा क्रियाशील सहकारी संस्थाहरु र जिल्ला विकास समितिबीच बृहत अन्तरक्रिया कार्यक्रम आज चरौँदीमा सम्पन्न भएको छ । जिल्ला विकास समिति धादिङका स्थानीय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाको कृषि क्षेत्र र कृषकहरुको अवस्था, समस्या एवं चुनौतिहरु तथा स्थानीय आवश्यकता र सहकार्यका सम्भावनाका विषयमा बृहत छलफल भएको थियो । 
बैठकले कृषि क्षेत्रको विकासमा सरोकारवालाहरुको साझा प्रयासको अपरिहार्यता रहेकोले एक कोषको स्थापना गर्ने र सोही कोष मार्फत कृषि तथा पशु विकासको लागि कृषिमा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग, सुरक्षित उत्पादन एवं बजार व्यवस्थापन तथा विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस विषयमा अवधारणा पत्र तयार गर्न बरिष्ठ कृषि विकास अधिकृत निलकण्ठ पोखरेलको अध्यक्षतामा जि.वि.स.का योजना अनुगमन तथा प्रशासकीय अधिकृत, डिभिजन सहकारी कार्यालयका प्रमुख, जिल्ला तरकारी तथा फलफुल सहकारी संघका अध्यक्ष हेमनाथ थपलिया र खाद्य अधिकार जिल्ला संजालका अध्यक्ष गोकर्ण रुपाखेति सदस्य रहेको कार्यदल गठन गरिएको छ । 
साथै जिल्ला विकास समितिबाट आयोजना हुने ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा सहकारी संस्थाहरुलाई समेत समावेस गर्ने निर्णय समेत बैठकले गरेको छ । कार्यक्रममा एकीकृत ने.क.पा. माओवादीका जिल्ला सह–सचिव विजय वुर्लाकोटी, नेपाली काग्रेस धादिङका सचिव भक्तबहादुर लामा, ने.क.पा. एमालेका राजेन्द्र प्रसाद थपलिया सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल वचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष श्री मीनराज कडेंल, नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एवं साना किसान बैकका अध्यक्ष खेम ब. पाठक लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको समते सहभागिता रहेका थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।