२ साउन, स्याङ्जा
स्याङ्जा जिल्लाभित्र उत्पादित कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ। रासायनिक मलबिना स्थानीय स्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकाले नेपालबाट बर्सेनि निर्यातमा वृद्धि हुदै गएको स्याङ्जास्थित कफी व्यवसायी समितिहरुले जनाएका छन्।
गत आर्थिक वर्षदेखि जिल्ला कफी व्यवसायी सङ्घको पहलमा गठित जिल्ला कफी सहकारी संस्थामार्फत् पहिलोपटक विदेशमा कफी निर्यात गर्न लागिएको जिल्ला कफी व्यवसायी समितिका अध्यक्ष पोमनारायण अर्यालले जानकारी दिनुभयो।
जिल्लामा कूल ८२ ओटा कफी उत्पादक समूह र ७ वटा कफी उत्पादक सहकारी संस्था छन्। यसअघि हाइल्याण्ड कफी कम्पनी काठमाडौं, एभरेष्ट कफी मिल पाँचखाल काभ्रे र प्लानटेक कफी कम्पनी काठमाडौँ मार्फत् यहाँ उत्पादन भएको कफी विदेशमा निर्यात हँुदै आएको थियो।
गत आर्थिक वर्षमा स्याङ्जाबाट ड्राइ पार्चमेन्ट कफी ५५ टन र ड्राइ चेरी कफी ५ टन विदेश निर्यात भएको स्याङ्जा कफी व्यवसायी सङ्घले जनाएको छ।
जिल्ला कफी व्यवसायी समितिको पहलमा ड्राइ पार्चमेन्ट प्रतिकिलो रु १५५ निर्धारण गरिएको छ भने ड्राइ चेरीको लागि रु ४० प्रतिकिलो तय गरिएको छ।
जिल्लाबाट २०६६ मा ड्राइ पार्चमेन्ट ४५ टन र ड्राइ चेरी ५ टन कफी विदेश निर्यात भएको थियो। जिल्लामा हालसम्म करिब चारहजार ५०० परिवार कफी खेतीमा संलग्न रहेको जिल्ला कफी सङ्घले जनाएको छ। जिल्लामा कूल २१५ हेक्टर जमिनमा कफी खेती गरिएको छ।
जिल्लाका कृषकले यस वर्षमात्रै कफी बिक्रीबाट करिव रु १ करोड ५० लाख आम्दानी गर्नेछन्। गत वर्षमात्रै कृषकले करिब रु १ करोड आम्दानी गर्न सफल भएका थिए। जिल्लामा हाल २८ वटा पलपिङ् केन्द्र रहेका छन्।
सभार हङकङ नेपाल डटकमबाट
0 comments:
Post a Comment