Thursday, September 15, 2011

सहकारीका साधारणसभामा छड्के अनुगमन सुरु


काठमाडौं,३० भदौ 
सहकारी विभागले सहकारी संस्थाका साधारणसभाको छड्के अनुगमन सुरु गरेको छ । कानुनले तोकेका प्रक्रिया नपु¥याई साधारणसभा गरेको गुनासो बढेपछि नियन्त्रणका लागि अनुगमन थालिएको विभागका अधिकारी बताउँछन् ।

“सहकारीको सर्वोच्च निकाय साधारणसभा हो,” विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले भने, “यसलाई स्वच्छ र मर्यादित बनाउन छड्के अनुगमन थालेका हौं । प्रक्रिया नपु¥याई कागजी रूपमा मात्र साधारणसभा गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो आवश्यक छ ।”
हालसम्म काठमाडौंका आधादर्जन साधारणसभा अनुगमन गरिसकिएको र डिभिजन कार्यालयलाई पनि अनुगमनको निर्देशन दिइएको जानकारी उनले दिए ।
“अनुगमनका क्रममा प्रक्रिया नपु¥याएको र त्रुटि देखिए त्यस्ता संस्थालाई कारबाही गरिन्छ,” उनले भने । साधारणसभामा विभागका प्रतिनिधिको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था विभागले गत वर्ष भदौदेखि हटाएको थियो । साधारणसभामा जाने प्रतिनिधिले ‘यातायात खर्च’ का रूपमा रकम लिएको गुनासो बढेपछि यो व्यवस्था हटाइएको हो ।

तर, प्रतिनिधि नजाँदा साधारणसभामा अनिमियता बढेको गुनासो आउन थालेपछि छड्के जाँच सुरु गरिएको ढकाल बताउँछन् । “कतिपय संस्थाले सदस्यलाई नै थाहा नदिई साधारणसभा गरेको गुनासा आएका छन्,” उनले भने, “निर्वाचन हुने साधारणसभा त सदस्यलाई जानकारी नै नगराउने समेत गरेको पाइएको छ ।”
साधारणसभा सहकारीको सर्वोच्च मञ्च हो । सभाले नै पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋण नीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै, कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण पनि साधारणसभाबाटै गर्नुपर्ने व्यवस्था छ ।
सहकारी मापदण्ड, २०६८ ले प्रारम्भिक सहकारी संस्थाले असोजभित्र, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारीले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सभामा १ हजारभन्दा बढी सेयर सदस्य भएका संस्थामा १० बराबर एक जना र एक जिल्लाभन्दा बढी कार्यक्षेत्र भएका संस्थामा भने १० प्रतिशत प्रतिनिधि सहभागी हुनुपर्ने व्यवस्था छ ।
मापदण्डले साधारणसभा नगर्ने संस्थालाई समेत कडाइ गर्न थालेको छ । मापदण्डमा नियमित साधारणसभा नगर्ने संस्थालाई सरकारबाट उपलब्ध हुने सेवा–सुविधाहरू नदिने व्यवस्था छ । त्यस्तै, दुई वर्ष साधारणसभा नगर्ने सहकारीलाई खारेज गर्ने व्यवस्था पनि छ । भाद्र २० अर्थ संसारबाट साभार गरिएको

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।