भाद्र ६ गते झापा
झापा दमक १२ का देवेन्द्र बरालको सोमबार अपरान्ह निधन भएपछि छरछिमेक मलाम जान तयारी गर्दै थिए । टाढा भएका आफन्तलाई पनि मृत्यू बारे खबर गरियो । उनीहरु पनि जम्मा हुने क्रम चलिरहेको थियो । पण्डितले गराउनु पर्ने दशदान जस्ता कर्म पनि चल्दै थियो । तर, बरालको शव सदगदी गर्न खोला किनारतर्फ भने लगिएन । उनको शब उठाउन ४ बजेतिर अस्पतालका चिकित्सक पो दमक आइपुगे । करीव ६० किलोमिटरको दुरी पार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका चिकित्सकले शव बुझेर अस्पताल लगे ।
यो दृष्य देखेर छिमेकीले मुखामुख गरे । आफन्तबीच पनि अनुहार हेराहेर भयो । धरानको बिपी प्रतिष्ठानका चिकित्सकको टोलीले एउटा कागजात आफन्तलाई जिम्मा दिदैं भने, ‘यो उहाँको शरीरदान गरेको प्रमाण पत्र हो, हुलाकबाट पहिल्यै पठाएका थियौं, आउन ढिला भएछ त्यसैले आँफैं बोकेर आयौं ।’प्रतिष्ठानका कर्मचारी रमेश पोख्रेलका अनुसार शबलाई एनाटोमी बिभागमा लगेर राखिने छ । ‘लगिएको शबलाई एमबिबिएसका बिद्यार्थीहरुले आवश्यकता अनुसार चिरफार गरेर आफ्नो कोर्स पूरा गर्छन्’, पोख्रेलले भने ।
एक बर्षअघि स्थानिय मेची सहकारी संस्थामार्फत शरीरदान गरेका बरालको अन्तिम श्रद्धान्जली दिन एउटा औपचारिक कार्यक्रम गरेपछि बरालको शव चिकित्सकले बुझेर लगेका थिए । चिकित्सकीय पठन पाठनमा आफ्नो मृत शरीर काम लागोस् भनेर बरालले शरीरदान गरेको बताउँदै मेची सहकारी संस्थाका अध्यक्ष गणेश बस्नेतले भने, ‘उहाँको मृत्यूको खबर आफन्तले गरेपछि हामीले अस्पताललाई जानकारी गरायौं ।’
सहकारीले आफ्नो बार्षिक साधारणसभाको अवसरमा शरीर दानको कार्यक्रम राख्ने गरेको छ । हालसम्म १६ जनाले शरीर दानको इच्छापत्र भरेको सहकारीका ब्यबस्थापक खोमप्रसाद बगालेले जानकारी दिए । शरीर दानको इच्छापत्र भरेर मृत्यू हुने बराल दमकका पहिलो ब्यक्ति हुन् ।
बरालका ज्वाइँले लक्ष्मीप्रसाद दहालले ससुराको मृत्यूको जानकारी संस्थालाई गराएको बताउँदै भने, ‘उहाँको इच्छा अनुसार नै हामीले दान गरेको शरीर अस्पताललाई दिने चाँजोपाँजो मिलाई दिएका हौं ।’ शिक्षण पेशामा रहेका ५५ बर्षिय बरालका तीनभाइ छोरा, एउटी छोरी र श्रीमती छन् । तीन छोरामध्ये एकजना बेलायत र अर्का एकजना अष्ट्रेलियामा बस्छन् । बावुको क्रिया भने यहिं रहेका छोरा खगेन्द्रले गर्दै छन् । अस्पतालका चिकित्सकले शव बुझेर लगेपछि हिन्दु संस्कार अनुसार नै उनलाई क्रियामा बसाइने बताउँदै स्थानिय पण्डित गणेशप्रसाद न्यौपानले भने, ‘शव सदगद नगरेपनि क्रिया गर्ने संस्कार त उहि नै हो ।’ उनले नियमअनुसार तेह्रै दिनसम्म मृत्यू कर्म चलाइने बताए ।
आफूले समेत शरीर दान गरेका संस्थाका अध्यक्ष गणेश बस्नेत भन्छन्, ‘एउटा राम्रो कामको शुरुवात गरेका छौं, नश्वर यो शरीरबाट चिकित्साशास्त्र पढ्नेले पढ्न पाउँछन् भने यसलाई दान गर्दा पूण्य नै कमाइन्छ ।’
यो सामाग्री पूर्वेली टाइमस् बाट लिइएको हो
0 comments:
Post a Comment