Monday, August 22, 2011

यस वर्ष डेढ सय सहकारीको  दर्ता खारेज

६ भदौ
सहकारी विभागले आर्थिक वर्ष ०६७र६८ मा देशभरका १ सय ५६ वटा सहकारीको दर्ता खारेज गरेको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौंका ९४ वटा खारेज भएको विभागले जनाएको छ ।
सहकारी ऐन–२०४८ मा दुई वर्षभन्दा बढी निश्क्रिय रहेका र उद्देश्यविपरीत काम गर्ने सहकारीको दर्ता खारेज गर्न सकिने व्यवस्था छ । यस्तै गत आवमा ७७ वटा सहकारी लिक्विडेसन गरिएको छ ।

आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा विभागको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै र रजिस्टार सुदर्शनप्रसाद ढकालले गत आवमा ५० वटा ठूला सहकारीको सघन अनुगमन गरिएको बताए । अनुगमनका लागि नेपाल राष्ट्र बैंकले सहयोग गरेको उनले जानकारी दिए ।
यसैगरी गत आवमा २ हजार ९ सय २२ सहकारीको दर्ता भई सहकारीको संख्या २२ हजार ६ सय ४६ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी १० हजार ५ सय ५८ बचत तथा ऋण सहकारी छन् ।
हाल सहकारीमा ३० लाख सदस्य आबद्ध भएको र १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको प्रतिवेदनमा उल्लेख छ । ५० हजारले प्रत्यक्ष, ५ लाखले अप्रत्यक्ष रोजगारी दिनुका साथै वित्तीय सेवामा १५ प्रतिशत योगदान गरेको र ग्रामीण अर्थतन्त्र उकास्न सहयोग गरेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा सहकारी उद्योग स्थापनाका लागि ३७ सहकारीलाई १ करोड ११ लाख रुपैयाँ अनुदान दिएको विभागले जनाएको छ । यस्तै सहकारीका सञ्चालक र सदस्यलाई लेखा, व्यवस्थापन, सहकारी सचेतनालगायतका विभिन्न प्रकारका तालिम दिएको बताइएको छ ।
प्रतिवेदन पेस गर्दै ढकालले विभागको क्षमता र जनशक्ति नबढ्दा अनुगमनमा समस्या देखिएको बताए । विभागको ५ सय ९४ जनशक्तिमध्ये १ सय ८६ रिक्त रहेको बताए । सहकारीको विकासका लागि ऐन कानुमा समयानुकूल सुधार र राष्ट्रिय सहकारी नीति आवश्यक रहेको ढकालको भनाइ थियो ।
“सहकारी विकासका लागि सहकारी ऐन २०४८ को परिमार्जन, छुट्टै बचत तथा ऋण ऐन र राष्ट्रिय सहकारी नीतिको आवश्यक छ,” ढकालले भने, “शिक्षा तालिमका साथै विभागको भौतिक पूर्वाधार र जनशक्ति थप्नुपर्छ ।” राज्यले सहकारीलाई अर्थतन्त्रको आधार मान्दा राज्यका अन्य निकायको बेवास्ताका कारण सहकारी अघि बढ्न नसकेको बताए । “अझै पनि शिक्षा, उद्योग, बिमालगायतका क्षेत्रमा जान सहकारीलाई बाधा छ,” ढकाल भन्छन्, “यसका लागि राज्यले सहकारीको दीर्घकालीन नीति बनाउन आवश्यक छ ।” कारोबार दैनिक भाद्र ४ गते

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।