सहुलियतको मल व्यापारीहरूको गोदाममा भेटिए
राष्ट्रिय समाचार समिति
नुवाकोट, साउन २९ गते । नेपाल सरकारले किसानहरूलाई प्रदान गर्दै आएको सहुलियतको मल व्यापारीहरूको गोदाममा भेटिएको छ ।कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूलीले व्यापारीहरूसँग मिलेर मलमा कालोबजारी गरिरहेको तथ्य खुलेको छ । वाणिज्य विभागले नुवाकोटको बजार अनुगमनका क्रममा बट्टार बजारमा रहेको न्यू कार्की खाद्य सप्लायर्समा कृषि कम्पनीको लोगो भएको मलका ४३ बोरा फेला परेको छ ।
उपभोक्ताहरूको उजुरीकै आधारमा विभागले गरेको अनुगमनका क्रममा उक्त मल गोदाम सिज गरिएको छ । विभागका महानिर्देशक अनिलकुमार ठाकुरसहितको टोलीले अनुगमन भएको थियो ।
किसानलाई सहुलियतमा प्रदान गर्न ल्याइएको रासायनिक मल बिक्री(वितरणमा अनियमित गर्ने कृषि सामग्री कम्पनी त्रिशूलीलाई कारबाहीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरीसमेत दिएको छ ।
नाम मात्रका सहकारी प्रतिनिधिसँग मिलेमतो गरी प्रतिबोरा रू। ९०० पर्ने मल बजारमा पठाइ किसानसँग जबर्जस्ती दोब्बर मूल्य असुलेको, मल वितरण सम्बन्धमा अनुगमन कार्य हुँदै नभएको, कम्पनीले कीर्ते गरी कागज मिलाएको र उपभोक्ता प्रतिनिधि नराखी वितरण गरेको मञ्चका नुवाकोट अध्यक्ष कमानसिंह लामाको भनाइ छ ।
विभागले जिल्लाका विभिन्न उपभोग्य वस्तु उत्पादन तथा बिक्री केन्द्रहरूको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा व्यापारीहरूले उपभोक्ताको स्वास्थ्य र अधिकारमा चरम लापरबाही गरिरहेको पाइएको छ ।
0 comments:
Post a Comment