इलाम भाद्र ३०
इलामको जीतपुरमा चियालाई अर्ग्यानिक बनाउन सहकारी संस्थाले लगानी सुरु गरेको छ । यहाँको नवमी चिया उत्पादक सहकारी संस्थाले चियाका लागि प्रयोग गरिने सामग्री, गड्यौलाबाट बन्ने कम्पोष्ट मल उत्पादन कार्य सुरु गरेको छ ।
संस्थाले शुद्ध अर्ग्यानिक चिया उत्पादन गर्न स्थानीय ९२ जना चिया कृषक सदस्य बनाएको छ । चार सय बीस रोपनीमा चिया खेती विस्तार गरि सकेको छ ।सदस्य विस्तार गर्दै थप दुइ सय पचास रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्ने योजना बनाएको संस्थाका अध्यक्ष चिरन्जीवि कट्टेलले जानकारी गराए ।
उनका अनुसार आगामी चार महिनामा पचास हजार किलोग्रम गड्यौला मल उत्पादन गरि अर्ग्यानिक चिया बनाउँन चिया किसानलाई सहुलियत मूल्यमा वितरण गरिने छ ।
आफ्नै लगानीमा संस्थाले कच्ची भवन बनाई मल उत्पादन गर्न धनकुटाको पाख्रीवास र कोल्बुङ इलामको इको चिया उत्पादक सहकारी संस्थाबाट गड्यौला ल्याएको बताइएको छ ।
किसानको आफ्नै बगानमा उत्पादन भएको हरियो चियापत्ती संस्थाले नै खरिद गरी मिष्ट भ्याली चिया कारखानालाई दिँदै आएको छ ।
कारखानाले सहकारीमार्फत ल्याइएको चियाको हरियो पत्ती ९० प्रतिशतलाई प्रतिकेजी ३६ रूपैंया, ८० प्रतिशतलाई ३३ रूपैंया र अन्य प्रकारलाई प्रतिकेजी २४ रूपैंयामा खरिद गर्दै आएको संस्थाका व्यवस्थापक बालकृष्ण पोखरेलले जानकारी गराए । पूर्वेली टाइम्सबाट साभार
0 comments:
Post a Comment