Wednesday, July 13, 2011

राउटे समुदाय पनि सहकारीमा आबद्ध

असार २८
लोपोन्मुख जातिका रूपमा सूचीकृत राउटे समुदाय पनि सहकारीमा आबद्ध भई बचत गर्न थालेका छन् । डँडेलधुराको सिस गाविसस्थित सिस साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएका राउटेले हालसम्म करिब २ लाख रुपैयाँ बचत गरेको संस्थाले जनाएको छ ।
जिल्लाका ३४ घरपरिवारका ६८ जना राउटे साना किसान सहकारीमा आबद्ध भई बचतका साथै संस्थाका क्रियाकलापमा समेत सहभागिता जनाउन थालेको साना किसान बैंकका अध्यक्ष तथा केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए । हालसम्म राउटेहरूले सेयरमा १३ हजार, व्यक्तिगत बचतमा १ लाख र बाल बचतमा ७० हजार रकम बचत गरेको पाठकले बताए । “यसअघि सरकारबाट प्राप्त हुने भत्ता र आफ्नो कमाई सबै राउटेले खानेकुरामै खर्च गर्न गरेका थिए,” पाठकले भने, “सहकारीमा आबद्ध भएपछि सीमित खर्च गरेर बाँकी रकम बचत गर्ने बानी बसेको छ ।”
राउटेलाई सहकारीमा आबद्ध गराउन करिब १ वर्षअघिदेखि संस्थाले प्रशिक्षण सुरु गरेको थियो । सरकारले राउटेलाई दिँदै आएको सामाजिक सुरक्षा रकम विगत २ वर्षेखि सोही सहकारीले वितरण गर्दै आएको छ ।
सहकारीका माध्यमबाट राउटे समुदायमा बचतको सदुपयोग गर्न र समाजमा घुलमिल हुन धेरै सजिलो हुँदै गएको बताइएको छ । सहकारीमा लागेपछि सामाजिक रूपान्तरणमा पनि सजिलो हुने पाठकले दाबी गरे । “अब राउटे पनि आफ्नो कामलाई व्यावसायिक बनाउन काष्ठ उद्योगमा रुचि देखाउन थालेका छन्,” पाठकले भने ।
साना किसान सहकारीले अन्य धेरै गरिब, पिछडिएका र लोपन्मुख सर्वसाधारणलाई आबद्व गरेको संंस्थाले जनाएको छ । मकवानपुर हाँडीखोलाका बनकरिया, तराईका मुसहरलाई पनि सहकारीमा आबद्व गराइएको पाठकले जानकारी दिए ।
साना किसान सहकारीलाई साना किसान बैंकले प्रवद्र्वन गर्दै आएको छ । हाल १२ करोड चुक्ता पुँजी रहेको बैंकमा सहकारीको ६० प्रतिशत सेयर रहेको छ ।
बैंकले हाल ४० जिल्लाका २ सय ३५ साना किसान सहकारीमार्फत ७ अर्ब ४७ करोड ५३ लाख कर्जा प्रवाह गरेको छ । १ लाख साना किसान परिवारलाई कर्जा प्रवाह गरेको बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम र असुलीदर ९९ प्रतिशत रहेको छ । सहकारीलाई थोकमा लघुकर्जा दिँदै आएको बैंकले उनीहरूको अनुगमन र प्रवद्र्वन गर्दै आएको छ ।  काठमाडौं, २७ असार कारोबार राष्ट्रिय आर्थिक दैनिक

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।