Saturday, July 16, 2011

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान

काठमाडौ । सरकारले निजी क्षेत्रलाई उपहास गरी सहकारीलाई धेरै नै प्रोत्साहित गरेको भन्ने भनाइ निजी क्षेत्रका व्यवसायीले व्यक्त गर्न थालेपछि सहकारी विशेषज्ञहरूले ठाडै अस्वीकार गरिदिएका छन् ।
कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत सहभागिता रहेको कृषि क्षेत्रका अधिकांश किसान सहकारीमा आबद्ध छन् । कृषि उत्पादनका प्रमुख वर्गलाई उपहास गर्ने र बीचमा बसेर कमाउन पल्केका केही निजी क्षेत्रका व्यापारीको सो भनाइमा कुनै वास्तविकता नै नरहेको सहकारी विज्ञ भरत शर्माको छ ।
राज्यले अहिले पनि करिब रु १५ अर्बको मासु भारतबाट आपूर्ति गरेको छ । यद्यपि निजी क्षेत्रले व्यावसायिकरूपमा बाख्रापालन गरेर मासु आपूर्तिमा सहजता तुल्याएको भने पाइँदैन ।
हिजोसम्म कुखुरा उत्पादनमा आत्मनिर्भर बन्न नसकेको नेपाल अहिले स–साना सहकारीसंग आबद्ध उद्यमीको प्रयासले नेपाल कुखुराको मासु आपूर्तिमा आत्मनिर्भर बनेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
अधिकांश सहकारीमा लाग्ने व्यक्ति भनेका कृषिका नै देखिएका छन् । उनीहरूले समाजमा छरिएर रहेका स–साना पुँजीलाई सङ्कलन गरी उत्पादन मूलक क्षेत्रमा लगानी गरेको पाइन्छ ।
केही वर्षको लगातारको प्रयासले तरकारी तथा दुग्ध उत्पादनमा नेपाल आत्मनिर्भर बनेको कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले जानकारी दिनुभयो । कुखुरा, उत्पादनतर्फ हो्स वा मत्स्य विकास पशुपालनतर्फ होस् वा फलपूmलखेती, मकै उत्पादनतर्फ होस् वा च्याउखेती कहीँ कतै पनि निजी क्षेत्रको लगानी देखिँदैन ।
तथापि उल्लिखित वस्तुको उत्पादनमा चासो नदेखाउने र बीचमा बसेर बिक्री गरी नाफा कमाउन पल्केका निजी क्षेत्रका व्यवसायीले कर बुझाएको दाबी लगाउँदै वक्तव्य जारी गर्ने गरेकामा कृषि तथा सहकारी मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ ।
कृषि उत्पादनमा कुनै चासो नदेखाए पनि किसानलाई नै आवश्यक पर्ने मल, खाद्य उत्पादनमा समेत आवश्यक पहल नगर्ने र सहकारीको मात्र कुरा गर्ने हो भने मुलुक औद्योगिकीकरणतर्फ कहिल्यै जान नसक्ने भनाइ अर्थमन्त्री भरतमोहन अधिकारीले साँझा सवाल कार्यक्रममा बताउनुभएको हो ।
गत आर्थिक वर्षको तुलनामा मलको बिक्री तथा प्रतिहेक्टर प्रयोगदरमा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०६६÷६७ मा ४२ हजार १७८ मेट्रिक टन मल खपत भएकामा आर्थिक वर्ष २०६७÷०६८मा खपतदरमा वृद्धि हुन गई ५१ हजार १७० मेट्रिक टन खपत हुन गएको थियो ।
जसको कारण मल आपूर्तिका लागिमात्र सरकारले अरबौँ गुमाइरहेको छ । निजी क्षेत्र भने उद्योगधन्दाका लागि उचित वातावरण नभएको, बन्द हड्ताल र चक्काजामले मुलुक अस्तव्यस्त भएको, लोडसेडिङका कारण मुलुक आक्रान्त बनेको आदि दोष थुपारेर पन्छिने गरेको छ ।
तर, मुलुकका अर्थमन्त्री भरतमोहन अधिकारी भने काम गर्न दृढ शक्तिको इच्छा भएमा केही कुराले पनि नछेक्ने बताउनुहुन्छ । उहाँले उद्यमीहरूको एक भेलालाई संम्बोधन गर्दा तपाईं उद्योग खोल्नुहोस् सरकार तपार्इंलाई बाटो र विद्युत्को ग्यारेन्टी दिन्छ भन्नुभएको थियो ।
नेपालमा सहकारीको महत्वपूर्ण योगदान रहिआएको छ । सहकारी सदस्यले दूध, चिया, कफी, तरकारी तथा फलफूल, मह, उखु, जुनार, जडीबुटी, कुखुरा तथा मत्स्यपालन, च्याउ उत्पादन आदि भारत र चीनतर्फबाट भइरहेको आयतलाई कम गरेको छ ।
निजी क्षेत्रका कुनै पनि लगानी कर्ताले कृषिलाई आधार बनाएको भेटिँदैन । सहकारी विज्ञ केशव वडालका अनुसार कृषिमा गरेको लगानीले तुरुन्त फाइदा नदिने भएकाले त्यसतर्फ उनीहरू आकर्षित नभएका हुन् । निजी क्षेत्रका उद्यमीहरू आज लगानी गरेर आजै नाफा खोजिरहेका हुन्छन् ।
जस्का कारणले बजारमा दैनिक मूल्य वृद्धि भइरहेको हुन्छ र त्यसको फाइदा काला बजारीयालाई मात्र पुग्छ । नेपाल सरकार अर्थमन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण २०६७/०६८ मा नेपालमा २९ लाख सदस्य सहकारीमा लागेका र जसमा ४० प्रतिशत महिला सदस्य छन् । जसबाट ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने पाँच लाखले अप्रत्यक्ष रोजगारी प्राप्त गरेको अनुमान छ भनी प्रष्ट्याइएको छ ।
रु एक खर्ब ४० अर्बभन्दा बढी पूँजी परिचालन भई गाउँदेखि सहरसम्म उद्यम व्यवसायको प्रवद्र्धन र कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्दे आएको सहकारीलाई बचाई राख्नु आजको आवश्यकता हो ।
राजराम कार्की News Network Pvt Ltd.



 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।