Wednesday, July 13, 2011

ग्रामीण सहकारीमा जोड

काठमाडौं, २८ असार
सहकारी संस्थाहरूलाई ग्रामीण क्षेत्रकेन्द्रित बनाई गरिब र उपेक्षित किसानको पहुँचमा पु¥याउन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । उपेक्षित किसानसम्म सहकारी पुगेमा त्यसले उत्पादकत्व वृद्धि गरी व्यापार घाटा घटाउन सहयोग गर्ने र यसले देशको अर्थतन्त्र बलियो हुने उनीहरूको तर्क छ ।
सहकारी नीति तय गर्न राष्ट्रिय सहकारी विकास बोर्डले गरेको दुई दिने कार्यशाला गोष्ठीमा उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न उत्पादनलाई बढावा दिने सहकारीको विकास आवश्यक रहेको बताए । स्वदेशमा रोजगारीको सिर्जना गर्दै स्वाधीन अर्थतन्त्रको विकास गर्ने सहकारीको आवश्यक भएको यादवले उल्लेख गरे ।
कृषि तथा सहकारीमन्त्री हरिनारायण यादवले सहकारीलाई कृषि उत्पादनसँग जोड्नुपर्ने बताए । सहकारीको विकासमा मन्त्रालय लागिपरेको बताउँदै उनले सरोकारवालाहरूको सुझाव समेटेर नीति तर्जुमा गरिने जानकारी दिए ।
सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले आर्थिक क्रियाकलापका हरेक क्षेत्रमा सहकारीले काम गर्न सक्ने भएकाले राज्यका सबै निकायलाई परिचालन गर्न सक्ने नीतिमा जोड दिए । निजी क्षेत्र र राज्य नपुगेको ठाउँमा सहकारी पु¥याउन कार्ययोजना सहितको नीति आवश्यक रहेको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले संसद्भित्र र बाहिर सहकारी विरोधी अभियान सुरु भएको बताए । सहकारीले कहिल्यै पनि निजी क्षेत्रको विरोध नगरेको उल्लेख गर्दै उनले पुँजीका आधारमा सहकारीलाई नहेप्न चेतावनी दिए । राज्य नियन्त्रित र बजार अर्थतन्त्रभन्दा सहकारी अर्थतन्त्र दरिलो भएकाले संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गरेको उनले बताए । संघकी सञ्चालक ओमदेवी मल्ल जोशीले सहकारी नीतिमा महिलालाई उचित सम्मान दिन आग्रह गरिन् । हाल सहकारी क्षेत्रमा महिलाको सहभागिता ४५ प्रतिशत भए पनि नेतृत्व तहमा १८ प्रतिशत मात्र रहेकोले नीतिमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्न आग्रह गरिन् ।
गोष्ठीमा सहभागी सभासद्, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सहकारीकर्मीहरूले सहकारी अभियानलाई ग्रामीण तहका गरिब, दलित र उपेक्षित जनतासम्म पु¥याउने नीति तय गर्नुपर्ने बताए । नेपालको आवश्यकताअनुसार उत्पादन र उपभोक्ता सहकारीलाई प्राथमिकता दिने गरी नीति बनाउन उनीहरूले सुझाव दिए ।
गोष्ठीमा सिप्रेड नेपालका कार्यकारी अध्यक्ष डा। हरिकृष्ण उपाध्याय र सहकारी विभागका पूर्वरजिस्टार महेश्वर शर्मा पौडेलले कार्यपत्र पेस गरेका थिए । दुई दिनसम्म चल्ने गोष्ठीले ‘राष्ट्रिय सहकारी नीति’ को मस्यौदा तयार गरी मन्त्रालयलाई बुझाउनेछ ।
सहकारीमा आकर्षण बढ्दै गए पनि सहकारी क्षेत्रलाई दिशा निर्देश नभएकाले नीति बनाउन लागिएको बोर्डका सदस्यसचिव नेत्रप्रसाद न्यौपानेले बताए । सहकारीको नीति निर्माण, अनुसन्धान र प्रवद्र्धनको काम बोर्डको भएकाले वार्षिक कार्यक्रमअनुसार गोष्ठी गरिएको उनको भनाइ थियो । गोष्ठीमा प्रस्तुत कार्यपत्र र टिप्पणीहरूलाई समेटेर राष्ट्रिय नीति बनाउन सरकारलाई सुझाव दिइने उनले बताए ।
विभागको तथ्यांकअनुसार हाल देशभर २२ हजार ६ सय ४६ सहकारीले १ खर्ब ५० अर्व बचत परिचालन गरेका छन् । संख्यात्मक विकास भए पनि समयअनुकुल ऐन काननु र नीति नबन्दा सहकारीमा विकृति मौलाएको र आवश्यक क्षेत्रमा यसको विकास हुन नसकेको विश्लेषकहरूको भनाइ छ ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको आयोगले पनि राष्ट्रिय नीति बनाएर अघि बढ्न सुझाव दिएको थियो । त्यस्तै राष्ट्र बैंकको समेत सहभागितामा विभागले सुरु गरेको ठूला सहकारीको अनुगमनले सहकारीमा विकृति रहेको औंल्याउँदै ऐन, कानुन र नीतिमा समयानुकूल सुधार गर्न र अनुगमन प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको थियो ।  कारोबार राष्ट्रिय आर्थिक दैनिक

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।