Sunday, June 19, 2011

नुवाकोटका सहकारीमा सवा अर्ब निक्षेप

रामहरि गजुरेल
नुवाकोट, असार ५ गते ।
नुवाकोटका ग्रामिण भेगमा साहुमहाजनसँग चर्को ब्याज तिरेर समेत ऋण पाउन हम्मेहम्मे पर्ने सर्वसाधारण र निम्न स्तरका कृषकहरुको बाध्यतालाई पछिल्लो समयमा गाउँगाउँमा खुलेका सहकारीहरुले अन्त्य गरिदिएको छ । त्यसअनुरुप सबैलाई सेवा पु¥याउन सफल नुवाकोट जिल्लाका सहकारीहरुसंग अहिले सवा अर्ब रुपैया निक्षेप संकलन रहेको छ ।
जिल्ला सहकारी संघले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित सहकारीहरुले १ अर्ब २५ करोड रुपैया निक्षेप संकलन गरेका छन् । सहकारीमा आबद्ध सामान्य किसान, महिला, सानो आम्दानी भएका देखि करोडपतिहरु समेत सामेल भएका छन् ।  उक्त निक्षेप जिल्लाका २ सय ८० सहकारीले संकलन गरेको हो ।
सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले बताए ।
नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो । जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।
सहकारीले सामान्य नागरिकलाई पनि ऋण दिन सक्ने धनी बनाएको छ । गाउँघरमा पहिले महंगो व्याजदरमा साहु महाजनलाई रिझाएर ऋण लिनु पर्ने दिनको सहकारीले अन्त्य गराएको जिल्ला अध्यक्ष मिश्रले बताए । ‘सहकारीले मानिसलाई पैसा बचत गर्न पनि बानी लगाएको छ’ अध्यक्ष मिश्रले भने ‘समाजमा विस्तारै सहकारीको माध्यमबाट आर्थिक क्रान्ति हुदैछ ।’
जिल्ला सहकारी संघले हालै विदुरमा पत्रकार सम्मेलन गरि जानकारी दिदै अध्यक्ष मिश्रले सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी, ३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको बताए । जिल्लामा सहकारीको माध्यमबाट मात्र ७० लाख रुपैया रेमिट्यान्स भित्रिने गरेको संघले जनाएको छ । जिल्ला सहकारी संघका १ सय ३ वटा सहकारी आबद्ध भएका छन् ।
बेलकोटको नमुना कृषक सहकारी, खानीगाउको नयाँबस्ती कृषक सहकारी र नमुना बहुउद्देश्यीय सहकारीले देनिक दुई÷दुई हजार किलोका दरले तरकारी जिल्ला बाहिर निर्यात गरिहेका छन् । बेलकोटको पञ्चकन्या र नवज्योती दुध उत्पादक सहकारीले दैनिक ३ हजार ५ सय लिटर दुध काठमाडौं पठाउँदै आएका छन् ।
संघले कृषि विकास बैंकले लिलाम निकालेको विदुरको जग्गा फिर्ता गरी करिव ६ करोड रुपैयाँको सम्पत्ति संरक्षण गर्न सफल भएको जनाएको छ । लामो समय घाटामा सञ्चालन भएको संघ चार बर्षदेखि नाफामा सञ्चालन भईरहेको छ । संघले १६ लाख रुपैया शेयर पुँजी संकलन गरेको छ भने आर्थिक बर्ष २०६७÷०६८ मा ९१ हजार ७ सय रुपैया नाफा गर्न सफल भएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।