Tuesday, May 17, 2011

सहकारीमा एक व्यक्ति एक पद


जेठ २ काठमाडौं   / सहकारीका केन्द्रीय, विषयगत तथा जिल्ला सङ्घहरूको अध्यक्ष र सञ्चालक समितिमा अब एक व्यक्ति एक पदको अवधारणा लागू हुने भएको छ । सहकारी विभागले वैशाख १ गतेदेखि लागू गरेको सहकारी सङ्घसंस्था नियमनसम्बन्धी मापदण्ड २०६८ ले यस्तो व्यवस्था गरेको हो । मापदण्डअनुसार सहकारी सङ्घसंस्थामा एक व्यक्ति एक मात्र पदाधिकारी हुन पाउनेछन् ।
एक सङ्घको पदाधिकारी हुँदाहुँदै अन्य प्रकृतिको सङ्घको अध्यक्षमा निर्वाचित हुने हो भने अघिल्लो सङ्घको अध्यक्ष पद स्वतः निष्क्रिय हुने मापदण्डमा उल्लेख छ ।
आठ(दशओटा सहकारी मिली सङ्घ दर्ता गर्ने र आलोपालो गरी वर्षौसम्म चलाइराख्ने प्रवृत्तिले अन्य प्रारम्भिक सहकारी संस्थाहरूले सदस्यता पाउन नसकेको सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले बताए । विभिन्न सहकारी सङ्घसंस्थामा एउटै व्यक्तिले धेरैतिर हालिमुहाली जमाएर बसेको उल्लेख गर्दै उनले भने, अब सहकारी मापदण्डअनुसार नचल्ने  त्यस्ता व्यक्तिहरूलाई विभागले कारबाही गर्नेछ ।
एउटै व्यक्ति विभिन्न प्रकृतिका सङ्घमा पदाधिकारी बनेका  उदाहरण सहकारी क्षेत्रमा प्रशस्तै छन् । त्यस्तो प्रावधान हटाउन विभागले तत्काल कदम चाल्नुपर्ने अरनिको बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तुलसीराम सापकोटाले बताए । हाल राष्ट्रिय सहकारी सङ्घसहित ११ केन्द्रीय सङ्घ तथा विषयगत र जिल्ला सङ्घहरू गरी २ सय ३ सङ्घ सहकारी विभागमा दर्ता भएका छन् । तीमध्ये १ सय ९३ ओटा  सङ्घ मात्र सक्रिय रहेको विभागले जानकारी दिएको छ ।
केही व्यक्ति प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय र विषयगत सङ्घसम्म पदकै लागि मात्र क्रियाशील रहेको सङ्घका महाप्रबन्धक रामभजन साहले बताए । यो मापदण्डले त्यस्ता व्यक्तिलाई निरुत्साहित बनाउने उनको भनाइ छ । राष्टिय अभियान दैनिकबाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।