Monday, May 2, 2011

सहकारीको सहयोगमा दाङका किसानले बगरमा सुन फलाउँदै

दुर्गालाल केसी दाङ, वैशाख १९
देउखुरीका विपन्न समुदायका किसान खेर गएको नदी किनारमा तरकारी खेती गररे राम्रो आम्दानी गर्न थालेका छन् । राप्तीले कटान गरेर बगर बनाएको १ सय हेक्टरभन्दा बढी जमिनमा तरकारी खेती गरेर उनीहरूले एक सिजनमा प्रतिव्यक्ति ६० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
नदीले कटान गरेर घरबाससहित जग्गा बगाइदिएपछि कयौं परिवार विस्थापित भएका थिए । त्यही बगर अहिले तरकारी खेतीको राम्रो स्थल बनेपछि किसान फेरि त्यही फर्केका छन् ।
जाँगर भयो भने खेर गएको बगरमा लटरम्म तरकारी फलाउन सकिने रहेछ, चैलाही(५ बलरामपुरका महादेव चौधरीले भने, जग्गा किन्नुपर्ने झन्झट छैन, पानीको समेत सुविधा छ । खेर गएको जमिनबाट राम्रो आम्दानी भएको छ ।उनले ६ महिनामा ६० हजारसम्म आम्दानी गरेको बताए ।
पुसदेखि जेठसम्म बगरमा खेती हुने गरेको किसान बताउँछन् । अहिले राप्ती आसपासका सात गाविसमा ५ सय ५७ किसान बगर खेतीबाटै आत्मनिर्भर भएको उनीहरूलाई मलबीउमा सहयोग गरिरहेको उद्यमशील कृषी बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । चैलाही, सतबरिया, सोनपुर, गंगापरस्पुर, बेला, सोनपुर र सिसहनिया गविसका किसान बगर खेतीमा छन् ।
यस सिजनमा खर्च कटाएर ५० हजार आम्दानी भएको छ, बलरामपुरकै सुरजदेवी घर्तीले भनिन्,पहिले नदी छेउमा आउन डर लाग्थ्यो, यसैलाई व्यवस्थित गर्न सक्दा राम्रो तरकारी फल्न सक्दो रहेछ ।अधिकांशले खाली जमिनको सदुपयोग गरेर लाभ लिइरहेका छन् ।
यर्हा खुर्सानी, सिमी, तरबुजा, लौका, बोडी र करेला सबैभन्दा बढी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी बगरमै बिक्री हुने गरेकाले बजारको समेत समस्या नभएको किसानहरू बताउँछन् । व्यापारी उत्पादन स्थलमै किन्न आउँछन्, सिम्रहवाका खुसीराम चौधरीले भने,  जति उत्पादन भए पनि खपत भइरहेको छ । नजिकका गाउँबाट समेत अन्य किसानहरू तरकारी किन्न आउने गरेको उनले बताए । दिनहुँ सयौं मानिसले राप्ती नदी वारपार गर्ने भएकाले बगर छेउमै राख्दा पनि तरकारी सजिलै बिक्री हुने गरेको किसानहरू बताउँछन् । एक दिनमै २५ देखि ३० किलोसम्म तरकारी बारीबाटै बिक्री हुने गरेको किसानहरूको भनाइ छ ।
राप्ती नदीले देउखुरीका १० गाविसलाई प्रभावित पारेको छ । कृषि सहकारीले किसानहरूलाई औषधी, ट्यांकी, पम्पसेट, विषादी र भिटामिन सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ । मल र बीउमा ५० प्रतिशत सहुलियत दिने गरेको संस्थाका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए ।
नदीकै कारण सयौं किसानको उठिबास लाग्ने स्थिति आएपछि हिउँदको समयमा बेमौसमी तरकारीलाई प्रोत्साहन गरिएको कृषि सहकारीका संस्थापक अध्यक्ष माधवप्रसाद शर्माले बताए ।
कान्तिपुर दैनिक  २०६८ वैशाख १९

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।