Wednesday, April 20, 2011

सहकारी सफलताको कथा

सहकारी पसलबाट मासिक २० लाखको व्यापार
वैशाख ८ , बिर्तामोड  झापा । बिर्तामोडमा सञ्चालन हुँदै आएका दुईओटा सहकारी पसलले मासिक रू.२० लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् ।डेढ वर्षअघि सतासी बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोड बजारमा शुरू गरेको सुपथ मूल्यको सहकारी पसलले अहिले मासिक रू.१५ लाखभन्दा बढीको कारोबार गर्दै आएको छ । संस्थाका कोषाध्यक्ष तथा सहकारी पसलका संयोजक चक्रबहादुर खत्रीले रू.१० लाखबाट शुरू भएको पसलको पूँजी अहिले रू.४० लाख पुगेको बताए । उनका अनुसार पसल बिहान ८ बजेदेखि बेलुका साढे सात बजेसम्म खुल्छ । पसलमा दैनिक न्यूनतम रू.५० हजारको व्यापार हुने गरेको उनले जानकारी दिए । सहकारी पसलकी व्यवस्थापक कमला बिष्टले पसलमा दैनिक उपभोगका खाद्य सामग्री, शृङ्गार सामग्री, उपहार सामग्रीलगायत ९ हजारभन्दा बढी वस्तुहरू राखिएका छन् । 
२०५३ सालमा स्थापना भएको सतासी बहुउद्देश्यीय सहकारी संस्थामा १ हजार ८ सय शेयर सदस्य र ४५ लाख शेयर पूँजी रहेको छ । बचत तथा ऋण र विपे्रषण भुक्तानीको समेत कारोबार गर्दै आएको सो सहकारीले वार्षिक रू.२ करोड निक्षेप सङ्कलन र सोही हाराहारीमा ऋण लगानी गर्दै आएको छ । संस्थाको सहकारी पसलमा १० जनाले रोजगारी पाएका छन् ।
त्यस्तै विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले पनि डेढ वर्षअघिदेखि बिर्ता सुपथ मार्केटको नामबाट सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष गोपाल काफ्लेका अनुसार सहकारी पसलमा मासिक औसत रू.५ लाखको कारोबार हुने गरेको छ । पसलले सात जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रू.१७ लाख शेयर पूँजी रहेको विराट अर्जुन सहकारीले पसलमा रू.२० लाख लगानी गरेको छ । पसलमा २ हजारभन्दा बढी प्रकारका सामान रहेका छन् ।
दुवै सहकारी पसलले प्रत्येक सामानमा मूल्य अङ्कित गर्ने गरेकाले उपभोक्तालाई सामान छान्न र मूल्य थाहा पाउन सजिलो भएकाले पनि सहकारी पसलहरूमा उपभोक्ताको आकर्षण बढेको स्थानीय हेमन्त राजवंशीले बताए । बिर्तामोडमा ७ वर्षअघि गोर्खा सुपर मार्केट खुलेपछि उक्त सुपर मार्केटले मूल्य अङ्कित गरेर सामान राख्न थालेको र अहिले सहकारी पसलहरूले समेत त्यसलाई अनुकरण गरेकाले उपभोक्तालाई सजिलो भएको राजवंशीको धारणा छ । (वैशाख ५,को आर्थिक अभियान पत्रिकाबाट साभार)

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।