पत्रकार, वकिल, इन्जिनियरजस्ता व्यावसायिक काममा संलग्न अपांगता भएका व्यक्तिमध्ये केहीले आफ्नो शारिरीक अशक्तताका कारण राज्यबाट एउटा सहयोगीको सुविधा माग गरेका छन् । भविष्यमा सरकारले आफ्नो क्षमताअनुसार उदार मनले तिनका अपेक्षा पूरा गर्नेतर्फ लाग्नुपर्छ ।
कृष्णहरि बास्कोटा

‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ का यिनै कर्णप्रिय पंक्तिसँग साक्षात्कार हुँदै अपांगता भएका व्यक्तिहरूले बचत गर्ने बानी बसाउने र आफ्नै सहकारीबाट कर्जा लिई स्वरोजगार हुने इच्छा राखी काम गरेको पाउँदा गर्व लाग्नु स्वाभाविकै हो । यथार्थमा अपांगता भएका मानिसहरूलाई समाज र ठूलाबडा भनाउँदाले दया र सहानुभूति प्रकट गर्नु जरुरी छैन । बरु तिनको हक स्थापित गरिदिन र तिनलाई पनि अरू मानिससरहको मान–सम्मान दिनु जरुरी छ । अपांगता भएका मानिसप्रति हेयको दृष्टिकोण राख्ने हक कसैलाई पनि छैन । तिनलाई छिःछिः र दुर्–दुर् गर्नेलाई एक प्रकारको मनोरोगीको संज्ञा दिए पनि फरक पर्दैन । अपांगता भएका मानिसहरूले रोजगारीको अवसर खोजेका छन् । समाजका अन्य मानिसले गरेसरहको काम गर्न चाहेका छन् । तिनले पनि आफूलाई मुलुकको सच्चा पहरेदारका रूपमा स्थापित गराउने मनसुबा व्यक्त गरेका छन् । यसर्थ, राज्य र समाजले अपांगता भएका मानिसले गरेर खान मिल्ने वातावरण निर्माण गरिदिए पुग्ने देखिन्छ ।
‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ पुनः मुनामदनकै यी वाक्यहरू अपांगता भएका मानिसको मनमा गढेर बसेको पाइन्छ । अपांगता भएका मानिसहरूसँग बोल्ने, उनका कुरा सुन्ने, उनीहरूलाई प्रोत्साहित गरिदिने, उनीहरूसँग बसेर खाने, उनीहरूसँग हात मिलाउने, उनीहरूसँग फोटो खिचाउने, उनीहरूसँग गला मिलाउने, उनीहरूसँग सहकार्य गर्ने र उनीहरूको पनि क्षमता र प्रतिभाअनुसार कदर गर्ने कुरामा समाजले बेलाबखत बाटो बिराउँदा अपांगता भएका मानिसहरूले चित्त दुखाउनु स्वाभाविकै हो । यसर्थ, यदि कसैले अपांगता भएका व्यक्तिप्रति आदरभाव र सम्मानभाव प्रकट गर्न सक्दैन भने हामीले ठान्नुपर्छ, त्यो मानिस स्वयं विचार र व्यवहारको अपाङ्ग छ ।
यिनै परिवेश र समस्याहरूलाई सम्बोधन गर्ने ध्येयले काठमाडांै जिल्लाको जोरपाटी, मूलपानी, गोकर्ण, नयाँपाटी र गोठाटारलाई कार्य थलो बनाई स्थापना भएको अष्टावक्र सहकारीले एकातिर बचत गर्ने बानी बसाएको छ भने अर्कातिर आफ्नै खुट्टामा उभिन चाहनेका लागि व्यावसायिक ऋण प्रवाह गरेको छ । यस सहकारीको अधिकृत पूँजी रु. ११ लाख छ भने बचत रु. १७ लाख छ । यस सहकारीको ऋण लगानी र असुली पनि सन्तोषजनक रहेको छ । संस्थाका अध्यक्ष गुणराज खतिवडाका अनुसार देशैभरि छरिएर रहेका अपांगता भएका व्यक्तिहरूको आर्थिक उन्नतिका लागि यो सहकारी क्रियाशील रहनेछ र गरिबी निवारणको काममा जुट्नेछ । यसैगरी, संस्थाकी कोषाध्यक्ष सरस्वती चौलागार्इंको विचारमा अपांगता भएका सदस्यलाई नियमित बचत गर्ने कठिनाइ परिरहेको, शारीरिक अशक्तताका कारणले संस्थाले सदस्यलाई विभिन्न रचनात्मक काममा सहभागी गराउन नसकेको र संस्थाको पुँजी नै कम भएकाले मागबमोजिम ऋण प्रवाह गर्न नसकेको जस्ता समस्याबाट सहकारी संस्था गुज्रिरहेको छ । तर, यसरी अपांगता भएका व्यक्तिमध्ये कोही ह्विलचेयरमा बसेर कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने, कोही बैशाखीका भरमा सभाको अध्यक्षता गर्ने, कोही कृत्रिम खुट्टाको भरमा सभाको उद्घोषक हुने, कोही लौरोको भरमा तोकिएको स्थानमा आसन ग्रहण गर्ने र अन्य सहकारी संस्थाले गर्ने सरहको साधारण सभा गर्न सक्नेजस्ता अपांगता भएका मानिसहरूको अदम्य साहस र जाँगर देख्दा मै हुँ भन्ने मानिस पनि नतमस्तक हुनु स्वाभाविकै हो ।
यसैबीच ह्विलचेयरमै बसेर रेडियोमा ‘अपांगता मञ्च’ कार्यक्रम सञ्चालन गर्ने पत्रकार टीकाराम ढुंगाना ‘विकलाङ्ग’ ले अपांगता भएकाहरूको छुट्टै विश्वविद्यालय गठन हुनुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँ ‘फरक क्षमता’ को टिभी सञ्चालन गर्ने सोचका साथ अगाडि बढ्नुभएको छ । आर्थिक अभाव छ, दाताको खोजीमा छु भन्ने ‘विकलाङ्ग’ को विचार मननयोग्य छ । उहाँ मुलुकमा करिब ४० लाख मानिस कुनै न कुनै किसिमले अपाङ्ग अवस्थामा रहेको तथ्यांक प्रस्तुत गर्नुहुन्छ ।
नेपाल सरकारले सामान्य र विशिष्ट गरी अपांगता भएका व्यक्तिलाई दुई भागमा विभक्त गरी मासिक रु. ३ सय र १ हजार भत्ता दिंदै आएको छ । यसमा परिचयपत्र व्यवस्थित हुन नसकेको, बसाइँसराइ गरेकै कारण यस्तो भत्ताबाट वञ्चित हुनुपरेको र अघोषित कोटा प्रणालीका कारण सबैले यस्तो भत्ता पाउन नसकेको गुनासो पनि सुनियो । यथार्थमा सरकारले सबै अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरी जो जहाँ रहे पनि सबैलाई भत्ता दिने प्रतिबद्धता व्यक्त गरेको छ । यसर्थ, कार्यान्वयन तहमा रहेका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो कर्तव्य पूरा गर्नुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यसैगरी, सरकारले अपांगता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटरमा सम्पूर्ण कर माफी दिएको छ । यसबाट उनीहरूको आवागमनमा सुगमता पुगेको छ । तर, उनीहरू कोरियामा निर्मित हातका औंलाद्वारा सरल ढंगले सञ्चालन गर्न सकिने ‘इलेक्ट्रोनिक ह्विल चियर्स’ मगाइदिन आग्रह गर्छन् । सरकार वा गैरसरकारी संस्थाले अनुदान दिई केही व्यावसायिक व्यक्तिलाई मात्रै भए पनि यस्तो सवारी साधन उपलब्ध गराउन सके अपांगता भएका व्यक्तिहरूको क्षमता थप प्रस्फुटन हुने मौका जुट्ने उनीहरूको आग्रह छ ।
सिंहदरबारभित्रका प्रायः सबै मन्त्रालय अपांगमैत्री बनाइएको छ । तिनमा ¥याम्प राख्ने, भुइँतल्लामा शौचालय निर्माण गर्ने र लिफ्ट राख्ने काम भएको छ । साथै, भविष्यमा निर्माण गरिने सरकारी भवन अपांगमैत्री तुल्याउने सरकारी सोचाइ छ । यसैगरी, सार्वजनिक यातायातका साधनमा ह्वीलचेयरहरू राख्न मिल्ने र अन्य प्रकारका अपांगता भएका व्यक्तिले प्रयोग गर्न सरल हुने गरी निजी क्षेत्रबाट सार्वजनिक बस पैठारी हुनुपर्छ । यसमा के–कस्तो सहुलियत आवश्यक पर्छ, राज्यसँग माग गर्नुपर्छ । सडक विभागले बाटो निर्माण गर्दा र ट्राफिक प्रहरीले ट्राफिक बत्तीलगायत जेब्रा क्रसिङको व्यवस्था गर्दा अपांगता भएका व्यक्तिको हित र सुविधाको ख्याल गर्नुपर्छ । यसैगरी, अपांगता भएका व्यक्तिले सरल ब्याजमा व्यावसायिक कर्जाको अपेक्षा गरेका छन् । यसबाट उनीहरू स्वयं आत्मनिर्भर भई आफ्नै खुट्टामा उभिन सक्छन् । यसका निमित्त नेपालमा रहेका बैंक र फाइनान्स कम्पनीहरूले अपांगता भएका व्यक्तिका लागि छुट्टै ऋण प्रवाह डेक्स खडा गर्नुपर्छ । तिनलाई सरल ढंगले ऋण दिने र अन्य सुविधा दिन सकिन्छ । सरकारले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रमबाट पनि अरूलाई सरह रु. २ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्रवाह गरी तिनको जीवनस्तर उठाउन सकिन्छ ।
अपांगता भएका मानिसहरूले समाजबाट आदर र सरकारबाट अधिकारको आशा राखेका छन् । उनीहरू रोजगारीको माध्यमद्वारा स्वावलम्बी भई आफ्नै खुट्टामा उभिन चाहेका छन् । यसका लागि अष्टावक्र सहकारी तिनलाई सघाउन अगाडि आएको छ । तर, यसको थैलीको आकार सानो भएकाले सरकारसँग कर छुट र अरूसँग सहयोगको अपेक्षा गरेका छन् । साथै, पत्रकार, वकिल, इन्जिनियरजस्ता व्यावसायिक काममा संलग्न अपांगता भएका व्यक्तिमध्ये केहीले आफ्नो शारिरीक अशक्तताका कारण राज्यबाट एउटा सहयोगीको सुविधा माग गरेका छन् । भविष्यमा सरकारले आफ्नो क्षमताअनुसार उदार मनले तिनका अपेक्षा पूरा गर्नेतर्फ लाग्नुपर्छ । यसैगरी, गैरसरकारी संस्था र नागरिक समाजले पनि अपांगता भएका मानिसको उन्नति र प्रगतिका लागि प्रोत्साहित गर्न भुल्नु हुँदैन । साथै, प्रत्येक व्यक्तिले मानव भएर अर्को मानवप्रति गर्ने मानवीय संवेदनशीलता कुनै पनि क्षण गुमाउनु हुँदैन भन्ने हेक्का सदैव राख्नु सच्चा नागरिकको कर्तव्य पूरा गर्नु हो भन्नुमा कुनै अतिशयोक्ति नहोला ।
(बास्कोटा अर्थमन्त्रालयका राजस्व सचिव हुन् ।)
0 comments:
Post a Comment