Tuesday, January 18, 2011

सहकारीको अर्बौं लगानी जोखिममा

विज्ञान अधिकारी, काठमाडौं, माघ ४- उपत्यकामा सञ्चालित अधिकांश बचत तथा ऋण सहकारी संस्थाले उठाएको निक्षेपको ठूलो हिस्सा घरजग्गामा लगानी गरेको देखिएको छ। सहकारीले संस्थागत क्षेत्रमा समेत धेरै लगानी गरेका छन्।
 राष्ट्र बैंक र सहकारी विभागको एक टोलीले गरेको अध्ययनले सहकारी संस्थाले जथाभावी लगानी गरेको र यस्तो लगानी जोखिममा समेत रहेको उल्लेख गरेको छ। टोलीले आफ्नो प्रतिवेदन राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाइसकेको छ।

अध्ययनले अहिले घरजग्गाको मूल्य घट्न थालेकाले सहकारीको लगानी जोखिममा पर्ने सम्भावना बढेको देखाएको छ। सहकारीले कर्जा प्रवाह गर्दा ऐनको ठाडो उल्लंघन गरेकोसमेत अध्ययनमा छ। टोलीले ऐनअनुसार सहकारीहरू सञ्चालन नभएकाले उनीहरुको लगानी जोखिममा पर्ने जनाउँदै सम्बन्धित निकायलाई तत्काल ऐनअनुसार सञ्चालनको वातावरण बनाउन जोड दिएको छ। यस्तै अन्धाधुन्द लगानी गर्ने केही सहकारीहरूमा हस्तक्षेप गर्नुपर्ने धारणा पनि टोलीको छ।
अध्ययनले अधिकांश सहकारी संस्थाका सञ्चालकको एकाघरका सदस्य, नातेदार र उनका कम्पनीमा ऋण प्रवाह केन्द्रित गरेको देखाएको छ। ती सञ्चालकको नाममा प्रवाह भएको ऋण उठन नसक्ने अवस्थामा रहेको अध्ययनको निचोड छ।
सहकारी संस्था खोल्ने र यसका सञ्चालकहरु आफ्नै घरभित्रका राख्ने गरेका छन्। राजधानीको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले कुल लगानीको ९३ प्रतिशत रकम हाउजिङमा लगानी गरेको छ। ओरियन्टल कोअपरेटिभ लिमिटेडको ६५ प्रतिशत लगानी छ।
सहकारी संस्थाका सञ्चालकले संस्थाबाट ऐन विपरीत असीमित सुविधा लिएको र जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा स्वविवेक प्रयोग गरेको भेटिएको छ।
'सहकारी संस्थाले गरिरहेको कारोबार अत्यन्तै भद्रगोल देखिएको छ,' सहकारी विभागका एक अधिकारीले भने, 'सहकारी भन्दै आफ्नो कम्पनीमा लगानी गरेर असिमित नाफा कमाउने उद्देश्य लिएका समूह देखिएका छन्।' टोलीले गरेको अध्ययनबाट केही नाम चलेका सहकारी संस्था यसरी सञ्चालनमा रहेको देखियो।
शुभश्री कोअपरेटिभ
यसका सञ्चालकले विभिन्न व्यक्तिको नाम देखाएर घरजग्गा र सेयरमा लगानी गर्ने तर, पछि ती सबै सम्पत्ति आफ्नै नाममा बनाउने गरेका छन्। यसको कर्जाको म्याद सकिए पनि ब्याज, सावाँ नबुझाएको र धेरै रकम उठ्न नसक्ने ऋणमा परिणत भएको छ । साधारणसभामा अनुमोदन नगरी सञ्चालकलाई ६ प्रतिशतमा ऋण प्रवाह गरिएको छ। तर, त्यही संस्थाबाट सदस्यलाई ऋण प्रवाह गर्दा तेब्बर ब्याज लिइएको छ। संस्थाको ऋण सञ्चालक समिति, एकाघरका परिवारसँग बढी केन्द्रित रहेको र यी सबै उठ्न नसक्ने अवस्थामा छ। सञ्चालकले लिएको पेश्की फर्छ्यौट नगरी संस्थालाई हानी पुर्‍याइएको छ। संस्थाले शुभश्री एकेडेमी, शुभश्री सोसियल एम्युनिटिज प्रालिलगायत नाममा कर्जा प्रवाह गरेको छ। संस्थाको आन्तरिक नियन्त्रण कमजोर छ।
एवन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
यो संस्थाको कर्मचारी र सञ्चालक एउटै छन्। साधारणसभाको निर्णय विनानै अध्यक्ष र सञ्चालकलाई मोटर र पेट्रोलको सुविधा दिइएको छ। कर्जा र निक्षेपमा सदस्यलाई दिने भन्दा सञ्चालकले राखेको निक्षेपमा बढी ब्याज दिइएको छ। सहकारीले खरिद गरेको बैंक तथा वित्तीय संस्थाको सेयर कार्यकारी अध्यक्ष र सञ्चालकको नाममा छ।
अधिकांश ऋण एकाघर परिवार, नातेदार र निजको कम्पनीमा केन्द्रित छ। सहकारीमा उल्लेखित पुँजी संरचनाभन्दा फरक संस्थाको पुँजी रहेको भेटिएको छ। कर्जाको फर्म सम्बन्धित ऋणीले भन्दा अरुले भरेको पाइएको छ। ऋण लिँदाको तमसुक केरमेट गरिएको पाइएको छ। कर्जा स्वीकृतिसम्बधी कुनै फाइल भेटिएन। कर्जा नवीकरणसम्बन्धी कुनै प्रक्रिया अगाडि नबढाइएको पाइएको छ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संगठित संस्थामा लगानी गरेका पाइएको छ। राष्ट्र बैंकको स्वीकृति बिना बैंकिङ कारोबार गरिरहेको छ। साधारणसभामा धेरै खर्च गरेको पाइयो। कार्यक्षेत्रबाहिर गएर निक्षेप स्वीकार गर्ने र प्रवाह गरेको देखिन्छ। कर्जा नोक्सानीको व्यवस्था गरिएको छैन। संस्थाबाट ऋण प्रवाह गर्दा कसैसँग १८ प्रतिशत ब्याज लिएको र कसैसँग ब्याज नै नलिएको पाइएको छ।
कल्याण सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
जग्गा खरिद बिक्री आपसी समझदारीमा गरेर पारदर्शिता नपनाइएको भेटिएको छ। संस्थाले कर्जा प्रवाह क्षेत्र बाहिर गएर गरिएको छ। सञ्चालक समितिमा ७ देखि ११ सदस्य हुनुपर्नेमा पाँच जना मात्र छ। सहकारी ऐनले व्यवस्था नगरेको प्रमुख संरक्षकको व्यवस्था गरिएको।
गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
गोरखा विकास बैंकको संस्थापक सेयरको प्रमाणपत्र संस्थाको अध्यक्ष डिबी बम्जनको नाममा रहेको पाइएको छ। संस्थाले संगठित संस्थामा लगानी गरेको छ। गोर्खा हस्पिटलमा लगानी गरेको छ। संस्थाले गरेको कर्जा वर्गीकरण नगरेको पाइएको छ। संस्थाको धितो मूल्यांकन कर्मचारीबाट बजार मूल्यअनुसार भएको छ । संस्थाले चल्ती खाता खोलेको भेटिएको छ। संस्थाको सञ्चालकमा एकाघरको परिवार रहेका छन्। राष्ट्र बैंकबाट अनुमति नलिई विदेशी मुद्राको कारोबार गरेको पाइएको छ।
कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभ लिमिटेड
संस्थाको सञ्चालकहरु मध्येबाट पाँच जनाले मासिक पारिश्रमिक लिएका छन्। उनीहरुले ग्रेडसमेत जोडेर पारिश्रमिक लिएको पाइएको छ।
उनीहरुले ऋण र पेश्कीसमेत लिएको पाइएको छ। सदस्यहरुसँगबाट तीन प्रतिशतसम्म सेवा शुल्क लिने गरेका छन्। नियमित बचतकर्तामध्ये कोही पनि प्रवर्द्धनात्मक सदस्य नरहेको भेटिएको छ। बजार प्रतिनिधि अत्यधिक छन् । कान्तिपुर हस्पिटल एक करोडको सेयर सदस्य बनाएर चार करोड ऋण लगानी गरेको देखिन्छ। सेयर पुँजीभन्दा १० गुणा बढी निक्षेप संकलन गरेको छ । साधारणसभा बिना अस्पताल, फाइनान्स र विकास बैंकमा लगानी गरेको छ। साधारणसभा नलगी गाडी खरिद गरेको पाइएको छ।
सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
संस्थाको ९३ प्रतिशत लगानी हाउजिङमा छ। सहकारीबाट सिभिल होम्सका घर बिक्री गरेको देखिन्छ। सीमित ढुकुटी नगद बिमा गरी निकै बढी रकम परिचालन गरेको छ। संस्थागत ओभरड्राफ्ट कर्जा १५ करोड रहेको भेटिएको छ।
ओरियन्टल कोअपरेटिभ लिमिटेड
संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ। विज्ञापनमा अत्याधिक खर्च गरेको देखिन्छ। संस्थाको घरजग्गामा ६५ प्रतिशत लगानी छ । संस्थाले अर्काको सहकारीको निक्षेप संकलन गरेको भेटिएको छ। ९१ प्रतिशत रकम मुद्धति खातामा राखेको देखिन्छ।
नवकान्तिपुर सहकारी संस्था
संस्थाले रेमिट्यान्सको कारोबार गरेको छ। वार्षिक कार्यक्रम पारित नगरेको भेटिएको छ । आंलकारिक लेखासमिति सदस्य बनाइएको र उसको नियन्त्रणमा वित्तीय अवस्था नरहेको देखिएको छ। बैंक जस्तै अन्तरशाखा कारोबार (एबीएस )सेवा सञ्चालन गरेको छ । सुनचाँदीमा कर्जा दिने गरेको पाइएको छ। ओभरड्राफ्टको ब्याज उल्लेख नगरिएको पाइएको छ । विभिन्न वित्तिय संस्थामा सेयर कर्जामा लगानी गरिएको छ। अवैंध मानिएको ढुकुटीमा लगानी गरेको देखिन्छ।
गुण कोअपरेटिभ
सहकारी ऐनअनुसार सहकारीको सञ्चालक सातदेखि ११ जना हुनुपर्नेमा पाँच जना मात्र सदस्य रहेका छन्। ढुकुटी, काउन्टर र मार्गस्थमा बिमा गरिएको छैन। कार्यक्षेत्र बाहिर जिल्लामा कर्जा दिएको भेटिएको छ। साधारणसभाको बारेमा सार्वजनिक सञ्चारमाध्यममा जानकारी नदिई कार्यालयमा सूचना टाँस गरिएको पाइएको छ। कर्मचारीलाई नियुक्तिपत्र नदिई काम गराइरहेको छ। सञ्चालकहरूले पाँच प्रतिशत कममा ऋण दिइरहेको भेटिएको छ। लेखासमिति संयोजक र सदस्य संस्थाको सेयर होल्डर छैनन्। राष्ट्र बैंकको अनुमति बिना मुद्धति निक्षेप परिचालन गरिएको छ। ०६१ सालमा हुनुपर्ने नियमित साधारणसभा समेत नभएको पाइएको छ। टेलिभिजन, फ्रिज र मोटरसाइकलको ब्याजमा समदर प्रणाली लागु गरिएको छ।
नेपाल सहकारी
अप्राकृतिक व्यक्तिलाई सेयर सदस्य बनाइएको छ। सेयर सदस्यले नियमित बचत गरेका छैनन्। कर्मचारीमा स्वेच्छिक अवकास योजना ल्याइएको छ। सहकारीले रेमिट्यान्सको कारोबार गरेको छ।
हिमालय सहकारी संस्था
संस्थाको अहिलेसम्म लगानी नीति छैन। संञ्चालक समितिको केही निर्णय नियमनकारीसँग अमिल्दो भेटिएको छ। कर्जा पूर्व र दिएपछि नियमन कमजोर रहेको भेटिएको छ।
सीतापाइला बहुउदेश्यीय सहकारी संस्था
सहकारी ऐन विपरीत एकाघरका परिवार सञ्चालक छन्। संस्थाले विभिन्न संस्थाको सेयर र मुद्धति रसिदमा १३ लाख लगानी गरेका पाइएको छ। लेखासमिति र सञ्चालक सबैले औषधी उपचार खर्च भनेर लिने गरेका छन्। सञ्चालकले बैठक भत्ताबाहेक मासिक ६ हजार, दसंै खर्च ६ हजार र यातायात खर्च लिएको पाइएको छ। तीस लाखको ढुकुटी बिमा गरिएको तर सीमाभन्दा बढी ढुकुटीमा राखिएको भेटिएको छ। सेयर पुँजीको दस गुणा बढी निक्षेप संकलन गरिएको छ। सञ्चालक भएको एकाघरका परिवारलाई धितो नलिई कर्जा प्रवाह गरिएको छ। कर्जा र निक्षेपमा दिइएको ब्याजभन्दा बढी सञ्चालकले राखेको निक्षेपमा ब्याज दिइएको छ।
गुण मल्टिपर्पोज कोअपरेटिभ
धित्तोका मूल्यांकन बजार मूल्य अनुसार गरेको छ। धितोको बिमा नगरेको पाइएको छ। कर्जा प्रवाह गर्दा १० कित्ता सेयर दिने तर कर्जा फिर्ता गर्दा सदस्यै फिर्ता हुन गरेको भेटिएको छ। सेयर पुँजीको दस गुणा बढी निक्षेप संकलन गरेको पाइएको छ। कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार गरिरहेको भेटियो ।
सुमेरु बचत तथा ऋण सहकारी संस्था
विना उद्देश्य समय नतोकी संस्थाका सञ्चालकहरुले पेश्की लिएको पाइएको छ। संगठित संस्थामा कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाहको सन्दर्भमा लिइने धितो संञ्चालक समिति अध्यक्ष र सदस्यका नाममा दृष्टिबन्धक पास गरेको भेटिएको छ। संस्थाले रेमिट्यान्स एजेन्टको रुपमा काम गरेको छ। लेखा समिति र उपसमितिमा विभाजन गरिएको छैन। धितोको मूल्यांकन नगरी ऋण प्रवाह गरिएको छ। एकाघरका परिवार सञ्चालक समितिमा रहेका छन्। सञ्चालक समितिमा ७ देखि ११ जना सदस्य रहनुपर्नेमा पाँच जनामा सीमित राखिएको छ। लामो समयदेखि संस्थाको साधारणसभा भएको छैन। nagariknews

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।