Sunday, July 24, 2011

१ अर्ब लगानीमा धनुषामा चिनी उद्योग खुल्ने

काठमाडौं, ७ साउन / उखु सहकारीहरूको लगानीमा धनुषामा चिनी उद्योग खुल्ने भएको छ । करिब १ अर्ब रुपैयाँको लगानीमा स्थापना हुने चिनी उद्योग देशकै सबैभन्दा ठूलो सहकारी उद्योग हुने बताइएको छ ।
केन्द्रीय उखु सहकारी संघले चिनी उद्योग सञ्चालनका लागि सहकारी विभागमा जानकी चिनी उद्योग सहकारी दर्ता गरेको छ । उद्योग विभागले सहकारीको नाममा उद्योग दर्ता गर्न अस्वीकार गरेपछि विभागमा दर्ता गरी उद्योग स्थापना प्रक्रिया अघि बढाइएको संघका अध्यक्ष रामचन्द्र कुशवाहले जानकारी दिए ।
“सहकारी उद्योग दर्ता गर्न उद्योग विभागले नमानेकाले विभागमा उद्योग सहकारी दर्ता गरी काम अघि बढाएका छौं,” कुशवाहले भने, “आगामी सिजनबाट उत्पादन सुरु गर्ने लक्ष्य लिएका छौं ।” उद्योगका लागि धनुषाको हरिहरपुरमा ४७ रोपनी जग्गा किनिएको र छिट्टै भौतिक पूर्वाधार निर्माण सुरु गरिने उनले जानकारी दिए ।
हाल ५ जिल्लाका २७ वटा उखु सहकारी संघमा आबद्ध छन् । सहकारीमा आबद्ध १ हजार २ सय ६६ जना कृषकले उद्योगमा लगानी गरेको कुशवाहले जानकारी दिए । उद्योगमा प्रत्येक किसानले १० हजार अंकित १० कित्ता ९एक लाख० रुपैयाँको सेयर किनेको उनले बताए ।
भारतमा धेरै चिनी मिलहरू सहकारीले चलाएको उदाहरण दिँदै नेपालमा निजी क्षेत्रको एकाधिकारलाई सहकारी उद्योगले तोड्ने कुशवाहले बताए । “उखुको मूल्य नपाएर कृषकले प्रत्येक वर्ष आन्दोलन गरिरहनु परेको छ,” कुशवाहले भने, “सहकारी उद्योग आएपछि किसानले उखुको उचित मूल्य पाउँछन् भने बजारमा चिनीको समेत अभाव हुँदैन ।” भारतको महाराष्ट्रमा मात्र सहकारीले १ सय ८० वटा चिनी मिल सञ्चालन गरेको उनले बताए ।
संघका उपाध्यक्ष कृष्णचन्द्र दासका अनुसार उद्योगमा १ हजार ७ सय टीसी क्षमताको मेसिन जडान हुने र दैनिक १ हजार ८ सय क्विटल चिनी उत्पादन गर्ने जानकारी दिए ।
उद्योगमा प्रारम्भिक सहकारीका साथै सहकारी संघ र स्थापित सहकारीले समेत लगानी गर्न सक्ने विनियममा व्यवस्था गरिएको छ ।
सहकारी विभागका रजिष्टार सुदर्शनप्रसाद ढकालले कानुनमा बाधा नभएकाले सहकारी उद्योग दर्ता गरिएको जानकारी दिए । उत्पादन, प्रशोधनमा सहकारी उद्योग अघि बढ्न सके उत्पादक किसान र उपभोक्ताले लाभ पाउने उनको भनाइ छ ।
धूलो दूध कारखाना अलपत्र
दुग्ध सहकारी संघले स्थापना गर्न लागेको धूलो दूध उत्पादन कारखाना अलपत्र परेको छ । बजेट र दूध अभावको कारण योजना हाललाई स्थगित गरिएको संघका अध्यक्ष माधव कोइरालाले जानकारी दिए ।
“हाम्रो योजना ४० करोडको छ सरकारले १० लाख दिएर कसरी उद्योग खोल्न सकिन्छ,” कोइरालाले भने । कारखानाका लागि सहकारी संस्थाबाट सेयर संकलन सुरु गरिएपछि १५ लाख मात्र संकलन भएको उनले बताए । संघले कारखानाको योजना सुरु गर्दा देशमा दूध पर्याप्त भए पनि हाल दैनिक ५ लाख लिटर दूध अभाव भएकाले धूलो दूध उत्पादन सम्भव नभएको उनको भनाइ छ । aarthasansar.blogspot.com

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।