Sunday, July 17, 2011

सहकारीलाई विशेष प्राथमिकता

काठमाडौं, ३२ असार
सरकारले आर्थिक वर्ष २०६७/०६८ को बजेटमार्फत सहकारी क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । सहकारीमार्फत कृषिजन्य उत्पादन बढाउनका साथै गरिबी उन्मुलन, दलित र पिछडिएका वर्गको उत्थान, रोजगारी वृद्धि, सेवा क्षेत्रको विकास र सामाजिक न्याय स्थापित गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरिएको छ ।
व्यवस्थापिका संसद्मा शुक्रबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारीलाई अर्थतन्त्रको एक मुख्य खम्बा हुने गरी प्रवद्र्धन र विस्तार गर्ने भन्दै राष्ट्रिय मूलप्रवाहबाट पछाडि पारिएका महिला, दलित, जनजाति, पिछडा वर्ग, भूमिहीन किसान, विपन्न मुसलमान, मधेसी समुदाय र दुर्गम क्षेत्रलाई उत्पादक शक्तिमा रूपान्तरण गरिने बताए । सहकारीलाई सशक्त बनाउनका लागि सहकारीमार्फत सञ्चालन हुने विभिन्न क्षेत्रमा उद्योग र व्यवसायमा पुँजीगत अनुदानका साथै सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ ।
बजेटमा यसअघिको सरकारले ल्याएको ‘गाउँ–गाउँमा सहकारी घर–घरमा रोजगारी’ कार्यक्रमलाई निरन्तरता दिँदै ‘गाउँलाई माया गरौंः आधारभूत सेवा सुविधा गाउँमै पु¥याऔं’ भन्ने नारासमेत अघि सारिएको छ । यसअन्तर्गत प्रत्येक जिल्लामा एक÷एकवटा नमुना गाउँ बनाइ त्यस क्षेत्रमा विभिन्न आधारभूत सेवाका साथै सहकारी खेती र सुपथ मूल्य सहकारी पसल खोल्ने कार्यक्रम अघि सारिएको छ ।

कृषिको व्यवसायीकरण गरी उत्पादन बढाउन सहकारीमार्फत अनुदान र सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरिएको छ । विकट जिल्लाहरूमा सहकारीको माध्यमद्वारा कृषि, जडिबुटी र फलपूmलको उत्पादन, संकलन र प्रशोधन गर्न, सहकारी संघ संस्थाहरूसँगको साझेदारीमा कृषि फार्म खोल्न अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ ।
यसैगरी पशुपालक र माछापालक कृषकहरूलाई सानाकिसान सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउने अघिल्लो आवको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने मेसिन औजारको खरिद लगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्थालाई पनि निरन्तरता दिइएको छ । यस्तै सहकारीले सञ्चालन गर्ने गोलभेडाबाट केचप उत्पादन गर्ने उद्योगहरूले आयात गर्ने मिल मेसिनरी एवं यन्त्र उपकरणहरूमा कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा भन्सार महसुल छुट दिने घोषणा गरिएको छ । सरकारले झापाको पृथ्वी नगरमा बन्न गइरहेको साना किसान चिया सहकारी कारखानाको निर्माण गर्न सहयोग उपलब्ध गराउने घोषणा गरेकोे छ ।
कृषिक्षेत्रको विकासका लागि आवश्यक अनुसन्धान कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख छ । कृषि थोक बजारको लागि कृषि सहकारी संघलाई काठमाडौं उपत्यकामा उपयुक्त जमिन उपलब्ध गराउने, मौसमी र बेमौसमी तरकारी, फलफूल, चिया, कफी र जडिबुटीको खेती र माछा तथा पशुपालन गर्न चाहने हरुवाचरुवा, वादी र ग्रामीण भूमिहीन महिलाहरूलाई सहुलियत दरको ऋणका साथै बीउ पुँजी उपलब्ध गराइने र सहकारी खेती प्रणालीमा सिंचाइको व्यवस्थाका लागि आधा खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ ।

सरकारी स्वामित्वमा रहेका निष्क्रिय एवं अनुत्पादक कृषि तथा पशु विकास फार्महरूलाई सञ्चालन गर्न सहकारी र निजीक्षेत्रलाई उत्प्रेरित गरिने, पाँचै विकास क्षेत्रमा सार्वजनिक–निजी साझेदारी र सहकारीमार्फत पशु प्रजनन केन्द्रको स्थापना गरिने र पशुपालन गर्ने सहकारीलाई निश्चित अवधिका लागि पर्ती जमिन निःशुल्क उपलब्ध गराउन कार्यविधि तर्जुमा कार्यक्रम अघि सारिएको छ ।
यस्तै एकल महिलाले सहकारिताको माध्यमबाट व्यवसाय सञ्चालन गरेमा त्यस्ता सहकारीलाई सहुलियतपूर्ण ब्याजमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको छ ।

यस्तै पिछडिएका वर्ग, जाति, लिंग, द्वन्द्वपीडित, सहिद परिवार, भूमिहीन र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई ‘सहकारी कोष’ खडा गरी कोषमार्फत आय–आर्जनको क्रियाकलापमा संलग्न हुन विशेष अनुदान र सुविधा दिइनेछ । तराईका डोम, चमार, मुसहर र पहाडका सार्की, दमाई, कामीहरूको परम्परागत पेसालाई व्यावसायिक सहकारीमा संगठित गरी आधुनिक व्यवसायमा रूपान्तरण गर्न अनुदान दिइने उल्लेख छ ।
सामूहिक खेतीमा जोड दिनका लागि साना–साना टुक्रा जमिन भएका साना किसानहरूको समूहले सहकारी प्रणालीमा खेती गरेमा ट्रेक्टर, पावर टिलर, थ्रेसर, धान कुट्ने मिल र आवश्यक मेसिनरी तथा उपकरणहरूको पैठारीमा औचित्यका आधारमा भन्सार छुट दिइने कार्यक्रम अघि सारिएको छ भने बहुउद्देश्यीय सहकारीलाई उपभोग्य वस्तु सुपथ मूल्यमा बिक्री गर्ने तथा स्थानीयस्तरमा उत्पादित वस्तुहरू खरिद गरी बजारसम्म पु¥याउन औचित्य हेरी ढुवानी साधन पैठारी गर्न भन्सार सुविधा दिइने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका र सहरी क्षेत्रमा यातायात मजदुरहरूकै संलग्नतामा यातायात सहकारी स्थापना गरी ठूला बस तथा ट्याक्सी सञ्चालन गर्न चाहेमा परियोजनाको औचित्य हेरी त्यसरी खरिद गरिने यातायातका साधनमा भन्सार छुट दिइने र विदेशमा गई फर्किएका नेपालीको १ सय जनाभन्दा बढीको समूह वा सहकारी बनाइ मेकानिकल, एसेम्बली, पार्टपूर्जा निर्माण कार्यमा संलग्न समूह वा सहकारीले आयात गर्ने मेशिनरी र पुँजीगत वस्तुमा सरकारले एकमुष्ट पुँजीगत अनुदान दिने व्यवस्था गरिएको छ ।
बजेटले बचत तथा ऋण सहकारीको अनुगमनलाई कडा र प्रभावकारी बनाउने कार्यक्रम ल्याएको छ । वार्षिक ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने बचत तथा ऋण सहकारीको अनुगमन र सुपरिवेक्षण सहकारी विभागको समन्वयमा नेपाल राष्ट्र बैंकले गर्ने व्यवस्था लागू गर्ने, बचत तथा ऋण सहकारीमा वित्तीय सुशासन कायम गर्न अनुगमन प्रणालीलाई सशक्त बनाइने र ऐन नियममा आवश्यक संशोधन गरिने उल्लेख छ । यसैगरी सहकारी संघ/संस्थालाई भन्सार छुट र अनुदान सुविधा उपलब्ध गराउन कार्यविधि तर्जुमा गर्ने, सहकारी आन्दोलनसँग सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धिमा जोड दिने र लघुवित्त विकास बैंक र बचत तथा ऋण सहकारी संस्थाहरूको सुदृढीकरण, विकास र विस्तारका लागि आवश्यक थप कानुन आगामी आर्थिक वर्षभित्र तर्जुमा गरिने कार्यक्रम ल्याइएको छ ।
यसपटकको बजेटमा स्वास्थ्य सहकारीलाई समेत विषेश प्राथमिकतामा राखिएको छ । ‘नयाँ नेपालको आवश्यकता स्वास्थ्यमा सहकारिता’ भन्ने मूल नाराअनुसार स्वास्थ्य सेवा प्रवाहमा सहकारी संस्थाहरूको सहभागिता अभिवृद्धिका लागि विशेष कार्यक्रमहरू ल्याइने उल्लेख छ । त्यस्तै वन उपभोक्ता महासंघ लगायतका संस्थाहरूसंग साझेदारी गरी सहकारीको माध्यमबाट हरित उद्योग स्थापना गरिने बताइएको छ । बजेटमा निजस् क्षेत्रलाई उपेक्षा गर्दै सहकारीलाई महत्व दिएको भन्दै आलोचना भएपनि बजेटले तिनखम्बे अर्थनीतिकै आधारमा सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयात्मक र परिपूरक भूमिकाको खोजी गरिएको उल्लेख छ ।आर्थिक समचारबाट लिएको हो

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।