Friday, May 20, 2011

उपत्यकाका पाँच सय सहकारी कारबाही

 यादव हुमागाई 
काठमाडौं,७ जेठ / उपत्यकाका करिब ५ सय बचत तथा ऋण सहकारी कारबाहीमा परेका छन् । सहकारी विभागले मासिक वित्तीय विवरण नबुझाएका सहकारीलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्दै कारबाही गरेको हो ।
काठमाडौंका ३ सय ३५, ललितपुरका १ सय र भक्तपुरका करिब एक दर्जन सहकारीलाई कारबाही गरिएको विभागले जनाएको छ । डिभिजन सहकारी कार्यालयहरूले ती सहकारीलाई १ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरेका छन् ।
“७ गतेभित्र वित्तीय विवरण नबुझाएका सहकारीलाई चेतावनी स्वरूप जरिवाना गरेका हौं,” काठमाडौंका सहकारी अधिकृत केशवबहादुर थापाले भने, कार्यालयले जरिवानाबाट गत वैशाखमा ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको थापाले जानकारी दिए ।
विभागले गत माघदेखि बचत तथा ऋण सहकारीलाई कारोबार विवरण मासिक रूपमा बुझाउन निर्देशन दिएको थियो । तर, निर्देशनलाई सहकारी संस्थाले अटेर गरेपछि वैशाखदेखि जरिवाना गर्न थालेको हो । ७० प्रतिशत सहकारीले मात्र मासिक विवरण बुझाउने गरेकामा जरिवाना गर्न थालेपछि भने विवरण बुझाउने संस्थाको संख्या बढेको सहकारी कार्यालयहरूले जनाएका छन् ।
राष्ट्र बैंकको सहयोगमा विभागले गत माघमा गरेको सघन अनुगमनमा सहकारीको कारोबार अपारदर्शी र अनियन्त्रित भएको पाइएपछि सहकारी कारोबारको विवरण मासिक रूपमा लिन सुरु गरिएको हो । विभागले हाल सहकारीबाट निक्षेप र कर्जाका साथै सेयर पुँजी, विभिन्न जगेडा कोषमा जम्मा भएको रकमलगायतबारे विवरण लिँदै आएको छ । विवरण संकलनदेखि विश्लेषणसम्मका लागि विभागलाई केन्द्रीय बैंकले सहयोग गर्दै आएको छ । विभागका अनुसार चैतसम्मको तथ्यांकअनुुसार उपत्यकाका सहकारीले मात्र     साढे १ खर्ब बचत परिचालन गरेका छन् ।
सानालाई छुट
यसैबीच विभागले एक करोडभन्दा बढी निक्षेप परिचालन गरेका सहकारीले मात्र मासिक विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । वैशाख १ गतेदेखि लागू गरेको ‘सहकारी संघसंस्था दर्ता तथा नियमन मापदण्डमा–२०६८’ ले एक करोडभन्दा कम कारोबार गर्ने सहकारीले वार्षिक रूपमा मात्र विवरण बुझाए पुग्ने व्यवस्था गरिएको छ । यसअघि सबै सहकारीले मासिक रूपमा कारोबार विवरण बुझाउनुपर्ने व्यवस्था थियो ।
“सहकारीकर्मीबाट आएको सुझावका आधारमा सानो कारोबार भएका सहकारीलाई मासिक विवरण बुझाउनु नपर्ने व्यवस्था गरिएको हो,” विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले भने । सानो पुँजी भएका सहकारीमा स्रोत साधनसमेत सीमित हुने भएकाले मासिक विवरणलाई सरल बनाइएको उनको भनाइ छ ।
कारोवार दैनिक जेष्ठ ५ मा प्रकाशित

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।