काठमाडौं, चैत्र २०
प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान निर्माणको पूर्वसन्ध्यामा पनि प्रमुख दलहरुबीच सहमति हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘राजतन्त्रविरोधी शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न त्यसका संबाहक शक्तिहरूबीच एकता र सहकार्य हुनु अत्यन्त जरुरी छ,’ सहकारी दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘तर प्रमुख र अन्य राजनीतिक शक्तिहरूबीच एकता र सहकार्यको प्रयत्नले सार्थकता पाउन सकेको छैन ।’प्रधानमन्त्री खनालले सरकारले सवै राजनीतिक दलहरूबीच वार्ता र छलफलहरूलाई जारी राखेको जानकारी दिंदै सम्भव सबै शक्तिसँग मिलेर मुलुकलाई दिगो शान्ति र नयाँ संविधान दिन भगिरथ प्रयत्न गरिरहेको जानकारी दिए । ‘हामीले राष्ट्रिय सहमतिको औचित्यलाई आत्मसात गरेर नै आफ्नो सारा प्रयत्न त्यस निम्ति केन्द्रित गरेका छौं,’ प्रधानमन्त्रीले भने, ‘व्यक्तिगत वा दलगत स्वार्थ, हानथाप र आरोप प्रत्यारोप गरेर मुलुकको अग्रगामी रुपान्तरण सम्भव छैन ।’
प्रधानमन्त्री खनालले सरकारले शान्ति र संविधानको कार्यभारमा नै अर्जुनदृष्टि लगाएको उल्लेख गर्दै त्यसका लागि सहयोग गर्न सहकारी क्षेत्रलाई आग्रह गरे । सरकार बनेको दुई महिना पुग्दासम्म पनि सरकारलाई पूर्णता दिन नसकेपछि प्रधानमन्त्री आलोचित बन्दै आएका छन् ।
प्रधानमन्त्री खनालले छरिएर रहेका ससाना पुँजी, श्रम र सीपलाई एकीकृत गरी राष्ट्रिय पुँजी निर्माण गर्न सरकारी क्षेत्र सफल भएको भन्दै प्रशंसा गरे । ‘ग्रामीण दुरदराज, विपन्न, पिछडिएका जातजाति तथा महिलाहरूको सशक्तिकरण गर्नमा सहकारीको उच्च योगदान रहेकोले नेपालको आर्थिक सामाजिक विकासमा सहकारीले खेलेको भूमिकाको म हार्दिक सराहना गर्दछु,’ उनले भने ।
प्रधानमन्त्री खनालले तीन खम्बे आर्थिक नीति अबलम्बन गर्न मुलुकका प्रमुख दलहरु सहमत भएको बताउँदै भने, ‘हामीले स्वीकारेका नेपाली अर्थतन्त्रका तीन खम्बामध्येको एक खम्बा सहकारी कमजोर भएमा हाम्रो अर्थतन्त्र लङ्गडो हुनेछ ।’ सहकारीको विकासका लागि साधनस्रोतको थप बिनियोजन गर्ने प्रधानमन्त्रीले विश्वास दिलाए ।
0 comments:
Post a Comment