बिसं २०१३ सालमा चितवन जिल्लामा स्थापित बखान ऋण सहकारी संस्थालाई नेपालको पहिलो सहकारी संस्थामा गणना गरिन्छ । यद्यपि २०१० सालमा नै सहकारी विभागको स्थापना भएको थियो । सहकारीको ऐतिहासिक पृष्ठभूमि कोट्याउँदा सन् १८४४ मा बेलायतको रोचडेलमा स्थापित रोचडेल इक्यूटेवल पायोनियर्स सोसाइटी नै बिश्वको पहिलो सहकारी संस्था हो ।
नेपालको अन्तरीम संविधानले सहकारी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको तीन खम्वामध्ये एक खम्वाकोरुपमा स्वीकार गरेको छ । नेपालमा प्रजातन्त्रको पुनस्थापनापछि मात्र सहकारी आन्दोलनेले गति लिन थालेको हो । पंचायतकालमा साझा र अरु नै नाममा राज्य नियन्त्रित सहकारी चलाएर सहकारीको मूल्य र मान्यतामाथि नै प्रहार गरिंदै आएको थियो । सहकारीको अन्तर्राष्ट्रिय मूल्य र मान्यता नै सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण हो । यही मान्यता अनुसार नै सहकारीलाई चल्न दिएपछि नेपालमा यो छोटो अवधिमा सहकारी आन्दोलनले फष्टाउने मौका पाएको छ । उच्चमाध्यमिक तहमा समेत सहकारी ब्यबस्थापनको पढाइ सुरु गरेर सहकारीलाई बढावा दिइएको छ ।आज मुलुकमा प्रारम्भिक सहकारीको संख्या २१ हजारभन्दा बढी पुगेको छ । वित्तीय क्षेत्र र मुलुकको समग्र अर्थतन्त्रमा पनि सहकारी क्षेत्रको योगदान बढ्दै गएको छ । सहकारीमा रु ७५ अर्वभन्दा बढीको कारोवार भएको र करीब ३० लाख सदस्य संख्या पुगेको छ । यी सकारात्मक पक्षका बाबजुद सहकारी आन्दोलनको दशा र दिशा सुधार्न राज्यले गर्नुपर्ने धेरै कामहरु छन् । सहकारीकर्मीले पनि यो आन्दोलनको गुणात्मक बिकासका लागि थुप्रै प्रयासहरु गर्नु आवश्यक छ । प्रथमतः सरकारले यो क्षेत्रको बिकासका लागि स्वतन्त्र सहकारी मन्त्रालयको स्थापना, सहकारीसम्वन्धि स्पष्ट नीति निर्माण, सहकारी क्षेत्रको बिकासका लागि जिल्लामा सहकारी कार्यालयको सुदृढिकरण र सहकारीकर्मीलाई यथेष्ट तालिमको खाँचो छ । सहकारीहरुको बर्गीकरण गरेर अहिलेको कर दरमा कमी ल्याउनु पर्ने पनि सहकारी क्षेत्रको माग रहिआएको छ । समाजवादी अर्थब्यबस्थाको माध्यमवाट मुलुकको बिकास गर्ने प्रभावकारी माध्यम नै सहकारी क्षेत्र हो । Samadhan National Daily





0 comments:
Post a Comment