Wednesday, March 23, 2011

सहकारीले बुझाउने मासिक विवरण सरल बनाइने


यादव हुमागाई काठमाडौं, ८ चैत
बचत तथा ऋण सहकारीले मासिक रूपमा बुझाउँदै आएको कारोबार विवरणलाई सहकारी विभागले सहज बनाउने भएको छ । हालसम्म प्राप्त विवरणको विश्लेषण र सहकारीकर्मीका सुझावका आधारमा विवरण बुझाउने प्रक्रियालाई सहज र सरल बनाउन लागिएको विभागका अधिकारीले जनाएका छन् ।
“विभागमा हालसम्म प्राप्त विवरणहरूको अध्ययन र सहकारीले दिएका सुझावका आधारमा प्रक्रियालाई केही सहज र सरल बनाउँदैछौं” विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले भने, “अहिलेको प्रक्रिया र ढाँचामा केही थपघट हुनसक्छ ।”

अहिले आइरहेका विवरणमा कतिपय जानकारीहरू अपूर्ण देखिएकाले त्यसलाई पनि समेटिने गरी ढाँचालाई परिमार्जन गर्न लागिएको ढकालले बताए ।
यस्तै हाल सबै सहकारीलाई मासिकरूपमा विवरण बुझाउनुपर्ने व्यवस्था गरे पनि कारोबारका आधारमा यसलाई केही सरल बनाउन लागिएको ढकालले जानकारी दिए । “अहिले सबै संस्थालाई मासिक रूपमै कारोबार विवरण बुझाउन भनेका छौं,” ढकालले भने, “कारोबारका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा विवरण बुझाउने व्यवस्था गर्न लागेका छौं ।” समुदायमा आधारित र सानो कारोबार भएका सहकारीले वार्षिक रूपमा मात्र कारोबार विवरण बुझाए हुने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको हितमा मात्र मासिक विवरण लिन सुरु गरिएको सहकारीकर्मीको आरोपलाई उनले खण्डन गरे । विवरण संकलन गर्ने ढाँचा बनाउन मात्र बैंकको सहयोग लिएको बताउँदै ढकालले भने, “राष्ट्र बैंकले पाँच करोड भन्दा बढी कारोबार भएका सहकारीको मात्र रुचि लिएको छ, हाम्रो त एक÷दुई हजार निक्षेप भएका सहकारीलाई हेर्नुपर्छ ।”
विभागले गत माघदेखि बचत तथा ऋण सहकारीलाई अनिवार्य मासिक कारोबार विवरण बुझाउन निर्देशन दिएको थियो । हालसम्म करिब ७० प्रतिशत सहकारीले विवरण बुझाउँदै आएको छ । विवरणलाई कम्प्युटरमा व्यवस्थित गरिरहेको विभागले जनाएको छ ।
सहकारीहरू वित्तीय अनुशासनविपरीत चलेको र कारोबार पारदर्शी नभएपछि अर्थ मन्त्रालय र केन्द्रीय बैंकको निर्देशनमा विभागले सहकारीलाई मासिक विवरण बुझाउन निर्देशन दिएको हो ।
विभागले हाल सहकारीबाट निक्षेप र कर्जाका साथै सेयर पुँजी, विभिन्न जगेडा कोषमा जम्मा भएको रकम लिँदै आएको छ । त्यस्तै कर्जा लगानी र त्यसको असुलीको अवस्था, कर्जा जोखिम वापतको व्यवस्थालगायतका विवरण उल्लेख गर्नुपर्नेछ ।

विभागको तथ्यांकअनुसार गत चैतसम्ममा देशभर ८ हजार ८ सय ८ बचत तथा ऋण सहकारी सञ्चालनमा छन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।