Wednesday, March 9, 2011

'निश्चित समयसम्म सहकारी क्षेत्रलाई करमुक्त गर्नुपर्छ'


-रमेशप्रसाद पोखरे

अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिमिटेड




    २०२८ सालमा मोरङ जिल्लामा जन्मेका रमेशप्रसाद पोखरेलले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । महेन्द्र मोरड्ड आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापन पेशामा संलग्न पोखरेल २०५२ सालमा सहकारी क्षेत्रमा प्रवेश गरेका थिए । स्थानीय स्तरमा सहकारीको क्षेत्रबाट केही गर्नुपर्छ भन्ने मान्यतामा दत्तचित्त रहेका पोखरेल स्टार बचत तथा सहकारीमा सचिव भएर काम गरेका थिए । हाल उनी सोही संस्थामा अध्यक्ष छन् ।     २०५७ देखि २०६५ सम्म राष्ट्रिय सहकारी बैकको संचालक समिति सदस्य र २०६५ सालबाट अध्यक्ष निर्वाचित भएका पोखरेल सहकारी र बैकका क्षेत्रमा पोख्त व्यक्ति हुन् । राष्ट्रिय सहकारी बैंक र सहकारी क्षेत्रका विषयमा पोखरेलसँग मेचीकाली डटकमले गरेको कुराकानीको :
सहकारीहरु कसरी राष्ट्रिय सहकारी बैंकमा आवद्ध हुने  ?
सहकारी वंैकमा विशुद्ध सहकारी संघ संस्थाहरु मात्रै आबद्ध हुन पाउँछन् । जुनसुकै प्रकृति र उदेश्य बोकेका सहकारीहरु यसको शेयर सदस्य बन्न पाउनेछन् । राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बोर्ड, केन्द्रिय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, विषयगत संघहरु सबै यसको शेयर सदस्य हुन सक्छन् । संचालक समितिले बैैकमा शेयर सदस्य बन्न न्युनतम १० कित्ताा शेयर खरिद गर्नुपर्छ । प्रवेश शृल्क ५ सय लाग्नेछ । १० हजार देखि ५६ लाख सम्म लगानी गर्ने सहकारीहरु हाम्रा सदस्य छन् । नेपाल सरकारको १ करोडको शेयर छ । १ करोड सरल ऋण उपलब्ध गराएको छ । बैंकमा आवद्ध हुन सजिलो वाटो छ ।
२० हजार भन्दा धेरै सहकारी भएको नेपालमा त्यति थोरै मात्र सदस्य बनेका छन्, थप सहकारीहरुलाई विश्वास दिलाउन नसकेर हो ?
    विगत देखि नै हामीले सबै सहकारीहरुलाई आबद्धता गराउने योजना बनाएका हौं । गत सालको साधारण सभामा मात्रै हामीसँग करिव १ हजार ३ सय मात्र शेयर सदस्यहरु सहभागी थिए । त्यो संख्या अहिले दोब्बर भएको छ । त्यो भन्दा अगाडीको सभामा ८ सय जति मात्रै थिए । सहकारी बैंकका गतिविधिहरु बढ्दै गएका छन् । २० वटा भन्दा धेरै शाखा उपशाखाबाट अहिले हामीले कारोवार गरिरहेका छौं । चाहेर पनि हामी सबै जिल्लामा जान सकेका थिएनौं । सिमित स्रोत र साधनका बावजुत पनि हामी ३ स्थानमा कारोवार थप्दै छौं । सहकारीहरु सहभागी हुन २३ शाखा हाम्रा सम्पर्क कार्यालय हुन सक्छन् । राष्ट्रिय योजनाका साथ हामी सदस्यता वृद्धिमा लाग्नेछौं । छुटेका सबै सहकारीहरुलाई बैकमा आबद्ध हुन आग्रह पनि गरिरहेका छौं । छुटेका थुप्रै सहकारीहरु बैंकमा आबद्ध हुनेछन् ।

आबद्ध सहकारीहरुलाई बैंकमा शेयर सदस्य भएर फाईदा चाँहि के ?
    आबद्ध भएका सहकारीहरुलाई थेरै फाईदा छ । पहिलो कुरा ग्रामिण भेगको दूरदराजमा रहेका सहकारीहरुको पहँुच राष्ट्रिय स्तरसम्म हुनेछ । सिधै केन्द्रिय स्तर हुँदै अन्तर्राष्ट्रियस्तर सम्मको सम्वन्ध हुन्छ । यसबाट प्रकाशित हुने सुचनाहरुको माध्यमबाट सिधै जानकारी प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय सहकारी बैंक नेपालकै एक मात्र बैंक हो । यसले गर्ने निर्णयमा साना भन्दा साना सहकारीहरुको समेत पहुँच हुन्छ । शेयर मुनाफा पाउनेछन् । सहकारीमा हुने वित्तिय अभावलाई टार्नेछ । तरल सम्पत्तिको अभाव, योजना कार्यान्वयनमा आउने समस्या, माग अनुसारको कर्जा प्रभावमा हुने अभावलाई यो बैंकले टार्नेछ । सहकारी बैंक र सहकारी संघ संस्थाको सम्वन्ध नङ र मासुको जस्तै छ ।
बैंकले सहकारीसँग मात्रै कारोवार गर्दा संकुचित भएन र ?
    देख्दा ठिकै जस्तो लाग्छ । जायज पनि हो । कारोवार क्षेत्रमा जाँदा दायरा पनि सानो भएको जस्तो लागेको छ । नेपाल राष्ट्र बैंकबाट हामीले भर्खर मात्रै अनुमति पाएका छौं । अनुमति पत्रमा सहकारी संस्थामा आबद्धसँग कारोवार गर्ने भन्ने उल्लेख छ । सोही अनुमतिका आधारमा कार्यक्षेत्र फराकिलो बनाउँदै सहकारीका सदस्यहरुका विचमा कारोवार गर्ने भन्ने निर्णयमा पुगेका छौं । त्यसो गर्दा हामी सहकारीको नियम भन्दा बाहिर पनि जाँदैनौं । त्यसका लागि हामी विनियम शंसोधनको तयारीमा छौं ।
राष्ट्र बैंकले शेयर पूँजी बढाउन निर्देशन दिएको छ, कसरी लक्ष्यमा पुग्नुहुन्छ ?
    हामीले २/३ वटा योजनाहरु बनाएका छौं । राष्ट्र बैंकले २०७० सालसम्ममा ६७ करोड शेयर पुँजी पु¥याउन निर्देशन दिएको छ । हामीसँग १६ करोड भन्दा पूँजी संकलन भएको छैन । सदस्य सहकारी संघ संस्थालाई शेयर रकम थप गर्न साधारण सभा मार्फत आग्रह गर्छाै । थप भएका सदस्यहरु मार्फत पनि शेयर रकम थप हुनेछ । नेपाल सरकारसँग पनि हामीले आग्रह गरेका छौं सरकारले एकमुष्ट हालिएको शेयर रकम विस्तारै फिर्ता गर्नेछौं । देशभरीका सबै सहकारी संघ संस्था र हामीसँग आबद्ध भएका सहकारीहरुको एकता हुँदा यो ठुलो कुरा हुन सक्दैन । हामीले जम्मा गर्न सक्नेछौं ।
पछिल्लो चरणमा खुलेका ठुला सहकारीहरुले सहकारीको नियम भन्दा बाहिर गएर ब्यापार गरिरहेको आरोप लाग्दै आएको छ, यतातर्फ तपाईहरुको ध्यान गएको छ ?
    नियमन, अनुगमनको कुरा भईरहेको छ । हामी यस्तो नहोस् भन्ने चाहन्छौं । तर कहिलेकाहिँ के हुन्छ भने सहकारीको कुरा गरिरहँदा गैर सहकारीहरुले सहकारीको बदनाम पनि गरिरहेका हुन्छन् । सिङ्गो सहकारी अभियानलाई बदनाम गर्ने र त्यस्ता सुचनाहरु बाहिर लगेर सहकारी क्षेत्रलाई तहस नहस बनाउने अभियानमा पनि केही लागेका देखिन्छन् । सहकारी सिद्धान्त भन्दा बाहिर गएर कारोवार गरिरहेका सहकारीलाई निश्चित समय दिएर सहकारीको सिद्धान्त भित्र आउन निर्देशन दिनुपर्छ । उहाँहरु नियम भन्दा बाहिर जान कोही पनि मिल्दैन । मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्नुपर्छ भन्ने हाम्रो मुल मन्त्र हो ।
सहकारीहरुलाई सरकारले लगाएको करको बारेमा बिरोध हुँदै आएको छ नि ?
    करको बारेमा हामीले सरकारलाई पटक–पटक भन्दै आएका छौं । सहकारी क्षेत्रलाई सरकारले सहयोग गर्ने हो भने एकपटक करमुक्त क्षेत्र भनेर घोषणा गर्नुपर्छ । मुलुकका धेरै देशमा हामीले त्यो देखेका छौं । ४० वर्षसम्म द्वन्द्वमा पिल्सिएको श्रीलंकामा सहकारी नीतिलाई अंगालेका छन् । सहकारीकै माध्यबाट द्वन्द्वमा भएको क्षतिलाई परिपूर्ति गर्न २००८ देखि २०१५ सम्म सहकारीहरुमा करमुक्त क्षेत्र भनेर घोषणा गरेका छन् । हाम्रो विडम्वना के छ भने २०४८ सम्म त राज्यकै नियन्त्रणमा सहकारीहरु चलायौं । २०४८ पछि बनेको सहकारीको ऐनलाई आत्मसात गरेर सहकारीहरु सञ्चालन गरिरहेका छौं । सरकारले अहिलेसम्म सहकारी सम्वन्धि प्रष्ट नीति ल्याउन सकेको छैन । हामीले अल्पकालीन, मध्यकालीन, दिर्घकालीन खालका नीतिहरु ल्याउन सुझाव पनि दिएका छौं । शुरुमा ३० प्रतिशत कर लगाउने सरकारको निर्णयलाई पुर्नविचार गर्न हामीले आग्रह ग¥यौं । घटाएर १५ प्रतिशतमा ल्याएको कर फेरी २० प्रतिशत बनाएको छ । ग्रामीण, शहर नभनी कारोवारका हिसावले ५ प्रतिशतसम्म सहकारीमा कर लगाउनु पर्छ । सहकारी क्षेत्रबाट उठेको कर सहकारी प्रबद्र्धन र विकासकै क्षेत्रमा खर्च गरिनुपर्छ । अहिले योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोखरेलको संयोजकत्वमा एउटा कार्यदल बनेको छ । हामी त्यो कार्यदल मार्फत सरकारमा अनुरोध गर्ने सोच बनाएका छौं । सहकारी बैंकको माग पनि त्यही हो ।
देशभरका सहकारीहरुको समस्या चा“हि के छ ?
सहकारी नीति प्रष्ट छैन । सहकारी ऐन २०४८ अन्र्तगत हामी सञ्चालन भइरहेका छौं । २० वर्षको दौरानमा धेरै परिवर्तनहरु भएका छन् । समयक्रम अनुसार सहकारी ऐन परिवर्तन गरिनुपर्छ भन्ने हाम्रो माग छ । करमा सहुलियत दिनुपर्छ । सहकारी क्षेत्रले कृषि, उद्योग, यातायात, स्वास्थ्य, शिक्षा, संचार लगायत १५ जति क्षेत्रमा सहकारीले कार्य गरिरहेको छ । कृषि तथा सहकारी मन्त्रालयबाट मात्रै सहकारीहरुको अभियानलाई अनुगमन, विकास र प्रर्वद्धन हुन सक्दैन । सहकारीहरुको विकास गर्न सरकारले छुट्टै मन्त्रालयको ब्यवस्था गरोस् । त्यसपछि मात्रै सहकारी क्षेत्रले गति लिन सक्छ । राजनीति परिवर्तन त नेपालमा भयो तर यसले गति लिन सकेको छैन । जबसम्म त्यो देशमा आर्थिक क्रान्ति हुन सक्दैन तवसम्म राजनीति स्थिरता हुन सक्दैन । राज्य र जनता मिलेर गर्ने अभियानमा सरकार सकारात्मक हुनुपर्छ । हामीले जोडदार रुपमा उठाउँदै आएको एउटै विषय छ सहकारी मन्त्रलाय तत्काल गठन गर्नुपर्छ ।
बैंकका भावी कार्यक्रमहरु के छन् ?
    हामी दर्ता भएका सबै सहकारी संघसस्थालाई आबद्ध गराउने अभियानमा लाग्नेछौं । यसै वर्ष ४० स्थानमा शाखा तथा उपशाखा स्थापना गरी कारोवार गर्नेछौं । अन्तर्राष्ट्रिय स्तरका सहकारीहरुमा आवद्ध हुने लक्ष्य लिएका छौं । रेमिट्यान्सको कारोवार गर्ने छौं । प्रकाशन, सुचना, तालिम र अध्ययन अवलोकनका कामहरु गर्नेछौं । शेयर मुनाफामा वृद्धि गर्दै जाने छौं । सदस्य सहकारीहरुको अनुगमगन गरी प्रवद्र्धन गर्नेछौं । सहकारी बैकको छुट्टै ऐन नभएकाले सरकारसँग अनुरोध गरेर सहकारी बैंक ऐन बनाउने तयारीमा छौं । कर्जा प्रवाहमा देखिएको समस्यालाई कम गर्दै ब्याज दर घटाउने अभियानामा छौ । शेयर वृद्धि गर्नेछौं । लक्षित समुहसँग गर्ने सरकारका कार्यक्रमहरुलाई सहकारी बैक मार्फत नै गराउने अभियानमा लाग्नेछौ । सिङ्गो सहकारी अभियानलाई सफल बनाउन के गर्नुपर्छ भनेर विभिन्न संघ सस्था, सरकार र दातृ निकायसँग छलफल गरेर जाने योजनामा छौं । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।