कारेवार दैनिक
सहकारी संस्थाले खोल्ने कृषिमा आधारित साना प्रशोधन उद्योगलाई सहकारी विभागले अनुदान दिने भएको छ । उद्योगको मेसिन खरिद गर्न लाग्ने रकममध्ये ५० प्रतिशत रकम अनुदान दिने विभागले जनाएको हो ।
“चालू आर्थिक वर्षको बजेटमा स्वीकृत कार्यक्रमअनुसार सहकारी उद्योगलाई अनुदान दिन लागेका हौं,” विभागका उपसचिव राजनप्रसाद दवाडीले भने ।
सरकारले सहकारी संस्थाको साझेदारीमा कृषिजन्य उत्पादन प्रशोधन उद्योग खोल्नका अनुदान कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०६५÷६६ देखि सुरु भएको यस कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमका लागि यस वर्ष एक करोड २० लाख रुपैयाँ छुट्इयाएको छ ।
उक्त रकम कृषिजन्य उत्पादन तथा प्रशोधन उद्योगमध्ये अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएका र निर्यातको सम्भावना रहेका चिया, अदुवा, मह, कफी, अलैंचीलगायत उपजका प्रशोधन उद्योगको मेसिनरी लागतमा ५० र अन्य कृषि उपजका उद्योगको मेसिनरी भने २५ प्रतिशत अनुदान दिइने विभागले जनाएको छ । अनुदान रकम एउटा उद्योगका लागि अधिकतम ६ लाख रुपैयाँ हुने विभागले जनाएको छ ।
अनुदान वितरणका लागि विभागले हाल सहकारी संस्थाको प्रस्ताव संकलन गरिरहेको विभागका उपसचिव राजनप्रसाद दवाडीले भने, “सबै प्रस्ताव आइसकेपछि बजेटअनुसार छनोट गरी सहकारीलाई अनुदान दिन्छौं ।” हालसम्म विभागमा करिब ४० वटा प्रस्ताव आएको र केही जिल्लाबाट आउने क्रममा रहेको उनले जानकारी दिए ।
यसअघि विभागले सार्वजनिक सूचनामार्फत सहकारी संस्थाबाट आवेदन मागेको थियो ।
विभागका अनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरण, कच्चा पदार्थ उपलब्धता र उद्योगबाट उत्पादित सामानको बजार सम्भावना लगायतका कुराको आधारमा उद्योगको छनोट गरिनेछ । यस्तै सरकारी प्राथमिकताको उद्योग, कार्य योजनाको प्रभावकारिता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारी सिर्जनाका आधारमा प्राथमिकता दिने बताएको छ ।
अनुदानका लागि सहकारी संस्थाले दुई वर्ष कारोबार गरिसकेको हुनुपर्ने विभागले सर्त राखेको छ । त्यस्तै विगत वर्षमा अनुदान पाएका संस्थाले यस वर्ष अनुदान नपाउने विभागले जानकारी दिएको छ ।
यसअघि पनि आव २०६६÷६७ मा ३५ वटा सहकारीलाई ९० लाख र आव २०६५÷६६ मा २० वटा सहकारीलाई ७५ लाख रुपैयाँ अनुदान कृषिसम्बन्धी साना उद्योग खोल्नका लागि दिएको थियो । अनुदान पाएका सहकारीले दुग्ध अदुवा, लप्सी, जुनार, चिया, कफी, जडिबुटी, बेसार र मह प्रशोधनसँग सम्बन्धित उद्योगमा लगानी गरेको विभागले जनाएको छ ।
0 comments:
Post a Comment