Wednesday, January 5, 2011

लोकप्रिय हुंदैछन् दाङका कृषि सहकारी पसलहरु

प्रकाश चौधरी र घोराही
उपभोक्ताहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन थालेपछि दाङका गाउंगाउंमा सञ्चालित कृषि सहकारी पसलहरु दिन प्रतिदिन लोकप्रिय बन्दै गएका छन् गाउं-गाउंमा सहकारी, घर-घरमा भकारी’ भन्ने एकीकृत माओवादी नेतृत्वको सरकारले लिएको नीतिअनुरुप जिल्लाका प्रायजसो गाविसमा सस्तो सहकारी पसलहरु खोलिएका हुन् । यसरी खोलिएका सहकारी पसलहरुले गरिब तथा विपन्न वर्गका कृषकहरुको जिवनस्तर माथि उठाउन समेत टेवा पुर्‍याएका छन् ।
ग्रामिण तथा शहरी क्षेत्रमा रहेका दर्जनौं कृषि सहकारी पसलहरुले कृषकलाई सहुलियतमा रासायनिक मल, विउविजन खाद्यान्न सामग्री लगायतका वस्तुहरु उपलब्ध गराइरहेका छन् भने दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, नुन, तेल, चिनीलगायतका सामान पनि अन्य पसलहरुको भन्दा सस्तो मूल्यमा दिइरहेका छन् । यसले गर्दा सहकारीप्रति कृषकहरुको चासो बढ्दै जान थालेको छ ।
२०१३ सालमा चितवनबाट शुरुवात भएको सहकारी प्रणाली अहिले देशमा दुर्गम र विपन्न वर्गका समुदायमा बढी प्रभावकारी भइरहेको छ भने सहकारी प्रणालीबाट सञ्चालित पसलहरु गाउंगाउंमा सञ्चालित छन् । सामूहिकतालाई जोड दिदै कम नाफा बढी सेवा गर्ने उद्देश्यका साथ सञ्चालन हुने यी सहकारीहरुले बजारमा हुने चर्को मूल्यलाई रोक्नुको साथै कृषकहरुलाई प्रत्यक्ष राहतको महशुस गराइरहेका हुन्छन् । विगतका सहकारीहरुको तुलनामा अहिले सञ्चालनमा आएका सहकारीहरु व्यवस्थित ढंगले सञ्चालन गर्दै त्यसलाई गुणात्मक रुपले माथि उठाउने तयारीमा लागेका छन् । विभिन्न स्थानमा रहेका कृषकहरु सामूहिक स्वामित्वमा केन्द्रित रहि सहकारी पसलहरु सञ्चालन गर्दै आइरहेका छन् । विगतमा सहकारी संस्थाहरुलाई सरकारले आफ्नो नियन्त्रण र लगानीमा सञ्चालन गरेका कारण उत्पादनमा ह्रास आएपछि कृषकहरुले अहिले आफ्नो हातमा पार्न सफल भएका छन् । विगतका तुलनामा अहिले कृषकहरुमा सहकारीबाट हुने उत्पादन प्रणालीको विकास स्वयम् आफ्ना लागि पनि हो भन्ने भावनाको विकास भएको छ । कृषकहरुको जिवनस्तर माथि उठाउने माध्यम बनेकोले सहकारी पसलहरु झन् बढी फष्टाउदै गएका छन् ।
यसरी सहकारीको विकाससंगै पछिल्लो चरणमा दाङमा ०६५ सालमा दर्ता भई ०६६ असारको अन्तिम सातादेखि सञ्चालनमा आएको घोराही नगरपालिकास्थित शहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सस्तो पसल उदाहरणीय बनेको छ । सरकारको १ लाख अनुदान र केही शेयर सदस्यहरुको लगानीबाट शुरु गरिएको उक्त पसलले अहिले ३० लाख बराबरको कारोवार गर्ने स्तरमा पुगेको छ । उक्त सहकारी पसलमा अन्य पसलको तुलनामा स्थानीय कृषक तथा ग्राहकहरुको आकर्षणता बढेको छ । खाद्यान्न सामग्री मात्र दैनिक १५ देखि २० हजारसम्मको बिक्री हुने शहिद स्मृति उपभोक्ता सहकारी पसल व्यवस्थापन समितिका सदस्य सुवास गौतमले जानकारी दिनु भएको छ । गौतमका अनुसार ३० जनाको शेयर सदस्यबाट सञ्चालित सहकारी पसल अहिले ७५ जनाको शेयरमा बृद्धि हुन पुगेको छ । उक्त उपभोक्ता सहकारीको शेयर १ सय ५० पुर्‍याउने लक्ष्य रहेको गौतमले बताउनु भयो । रासायनिक मल र खाद्यान्न सामग्री मात्र बिक्री गरिरहेको सहकारी पसलले थप शेयर वृद्धि गरी एग्रोभेटका सामग्रीहरु र खाद्यान्नको डिलर राख्ने योजना बनाएको छ ।
त्यसो त शहिद स्मृति उपभोक्ता सहकारी मात्र होइन, सिसहनिया कृषि सहकारी देउखुरीले पनि २० लाख बराबरको कारोबार गरिसकेको छ । त्यस्तै धर्नाली कृषि सहकारी संस्था धर्ना, फत्ते स्मृति उपभोक्ता सहकारी संस्था हलवार लगायतका दर्जनौ सहकारीले लाखौको कारोवारसंगै जनतामाझ लोकप्रियता कमाउदै जान थालेका छन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।