काठमाडौँ, २६ पुस / राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको १८ औँ वाषिर्क साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकका कुना काप्चामा सहकारी संस्थाहरूको माध्यमबाट मुलुकमा सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने गराउने विषयमा सरोकारवाला गम्भीर हुनुपर्ने खाँचो औल्याउनुभएको छ ।उहाँले सङ्गठित समुदायको परिचालनबाट समग्र वातावरणलाई मानवको हितमा प्रयोग गर्न पनि सहकारी संस्थाहरू जत्तिको उपयोगी र दिगो अन्य प्रणाली हुन नसक्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्र बहुआयामिक क्षेत्र भएकाले यस्ता क्षेत्रका संस्थाहरूको अनुगमनलाई प्रभावकारी बनाउन र सहकारी सेवाहरू विस्तार गर्न सबै जिल्लामा सहकारी कार्यालयको पहुँच एवम् प्रशिक्षण तथा सुविधा विस्तारका साथै सेवाप्रवाहको स्तरलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।
संविधानसभाका सदस्य लोकेन्द्र विष्ट मगरले कृषि, उत्पादन, आधारभूत र गाउँलाई सहकारीलाई बढी जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा सुबोधकुमार झाले सहकारीलाई ग्रामीणमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले सहकारी बचत तथा ऋणको क्षेत्रका अतिरिक्त उत्पादन र सेवा क्षेत्रमा पनि जानुपर्ने सुझाव दिनुभयो । सङ्घका अध्यक्ष केशव बडालले सङ्घको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै सहकारिता विकाससँग सम्बन्धित पक्ष भएकाले मुलुकमा राजनीतिक स्थिरता कायम भएमात्र विकास पनि सम्भव हुने बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारी आन्दोलन आफैमा लोकतान्त्रिक आन्दोलन हो भन्दै दिगो आर्थिक विकासमा सहकारीको महत्वलाई संयुक्त राष्ट्रसङ्घले समेत स्वीकारिसकेको बताउनुभयो । सहकारी क्षेत्रमा हाल २० हजार सहकारी संस्था रहेको जसमा करिब पाँच हजार संस्थाहरू कृषि क्षेत्रमा सक्रिय छन् भने १२ हजारभन्दा बढीले वित्तीय कारोबार गर्दै आएको सो अवसरमा जानकारी गराइयो । सङ्घका अध्यक्ष बडालले प्रस्तुत गर्नुभएको वाषिर्क प्रतिवेदनमा आर्थिक वर्ष२०६६र६७ का कार्यक्रमहरूको समीक्षा, द्विपक्षीय क्रियाकलाप, नियमित क्रियाकलाप, चालु वर्षा योजना तथा कार्यक्रमजस्ता विषयमा प्रकाश पारिएको छ ।
0 comments:
Post a Comment